मोरङ । मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार बिहान श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिसपी कोपिला चुँडालले जानकारी दिनु भयो ।
उहाँकाअनुसार सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको बिहान ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान सुरू गरेको छ । प्रहरीले खोलामा करेन्ट प्रवाह नगर्न र कसैले गरेको थाहा भएमा तत्काल सूचना उपलब्ध गराउन सबैमा आह्वान गरेको छ ।