चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया

जेष्ठ ३१, २०८२ |राजु चौधरी
चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया

चितवन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर र महालक्ष्मी ड्राईभिङ सेन्टरमा छापा मारेको छ । 

अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयका सहायक (पाँचौं) ईन्द्रजित गुरूङको कार्यकक्षबाट एक लाख पचासी हजार रूपैयाँ नगदसहित ईन्द्रजित गुरूङ र बिचौलिया सुरज पाठकसमेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयाे । 

यातायात कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरू र विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकहरूको बिद्युतीय उपकरण मोबाइल थान-३१ भन्दा बढी, ल्याप्टप थान-२ र अन्य कागजातहरूसमेत नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले बताउनुभयाे ।

यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय प्रमुख एवं कर्मचारीहरू र महालक्ष्मी ड्राईभिङ सेन्टर, गुरूङ ड्राईभिङ सेन्टर र कुमार ड्राईभिङ सेन्टर लगायतको मिलेमतोमा यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्दा फेल भएका परीक्षार्थीहरूबाट विभिन्न वर्गका सवारी चालक अनुमति पत्र दिनका लागि वर्ग अनुसारको १५ हजारदेखी २५ हजारसम्म रकम लिइ फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानून विपरित रकम संकलन गरी भ्रष्टाचार गर्ने गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले छापा मारेर अनुसन्धान सुरू गरेको हो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।