अछाम जयगढ आगलागी पीडितले राहत पाउने भए

जेष्ठ २९, २०८२ |खम्म खत्री
अछाम जयगढ आगलागी पीडितले राहत पाउने भए

अछाम । आगलागी भएको दुई महिनापछि अछामको बान्नीगढी जयगढ बजारका ब्यापारीहरुले नगद राहत रकम पाउने भएका छन । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयजढ बजारमा गत चैत्र २६ गते भएको आगलागीबाट पीडितहरुलाई गाउँपालिकाले राहत वितरणको प्रक्रिया सुरु गरेको छ । 

गाउँपालिकाले आगलागीबाट पीडित लाभग्राहीहरुको नामावली र पाउने राहत रकमको विवरण आज गाउँपालिकाले सार्वजनिक गरेको छ । गाउँपालिकाले आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२ पारित गरेर राहत वितरणको प्रक्रिया थालेको हो । 

गाउँपालिकाका अनुसार आगलागीबाट पीडित ३० जनाले ६३ लाख २१ हजार नगद राहत रकम पाउने छन् । राहत रकम भने आइतबारबाट वितरण गरिने जनाइएको छ । गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदका अनुसार उक्त राहत रकम सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकारहरु, विभिन्न गैरसरकारी संघ सस्था, व्यक्ति तथा व्यापारिक फर्महरुबाट संकलन भएको हो। 

राहत रकम पाउने ३० जना व्यापारीमध्ये ६ जनावाहेक सबै बान्नीगढी जयगढ गाउँपालिकाका छन । ६ जनामध्य तीन मेल्लेख गाउँपालिका वडा नंम्वर ७ का तथा तीन साँफेबगर नगरपालिकाका ब्यापारी रहेका छन । सबैभन्दा धेरै नगद राहत रकम पाउनेमा निर्मला रावल र खगेन्द्र साउँद छन् । उनीहरुले ५ लाख ३५ हजार रुपैयाँ पाउने भएका छन । 

सबैभन्दा कम रकम पाउनेले १५ हजार पाउने भएका छन् । जेठ २७ गते बसेको गाउँपालिका स्तरिय विपत् व्यवस्थापन समितिको बैठकको सिफारिस तथा आज बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।