बाजुरा । जगन्नाथ गाउँपालिकामा मंगलबार जीप दर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दर्घटना दुई जना घाइते भएका छन ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख अन्दाजी ५५ वर्षीय लोकबहादुर खड्का, जीप चालक अन्दाजी ४० का करन महतरा र बडीमालिका नगरपालिका-७ का अन्दाजी २८ वर्षीय रविन्द्र धामी रहेको प्रहरीले जानकारी दिएकाे छ ।
जीप दुर्घटनामा परी घाइते हुनेमा बुढीनन्दा नगरपालिका-२ कोल्टीका अन्दाजी २५ वर्षीय नन्दराम तिरूवा र अन्दाजी २२ वर्षीय लोकेन्द्र तिरूवा रहेको प्रहरीले जानकारी दिएकाे छ ।
सोही गाउँपालिका-३ काडाकोटमा नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले बताउनुभयाे । उहाँकाअनुसार घाइते भएका दुई जनालाई एम्बुलेन्समा आधारभूत अस्पताल कोल्टीमा उपचारका लागि ल्याइएको छ । मृतकको प्रहरी मुचुल्का भइरहेको छ ।
नेपाल टेलिकमको टावरमा सोलार जोड्न पिलुचौरबाट गएको उक्त जीप अनियन्त्रित भइ दुर्घटना भएको बताइएकाे छ । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियाे । कच्ची सडक भएका कारण जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।