काठमाडौं । चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनमा ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनालाई प्रतिवादी बनाएर आपराधिक उपद्रव, संगठित अपराध, राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग लगायतका कसुरमा मुद्दा दर्ता गरेको हो ।
तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनमा पक्राउ परेकामध्ये राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर भएको छ । उहाँहरू दुवैविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरेको छ ।
दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान कसुरमा समेत मुद्दा दायर भएको छ । प्रहरीले १ सय ८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएको थियो ।
प्रहरीले यस घटनामा आपराधिक उपद्रव र संगठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो । त्यसमध्ये आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्यविरुद्धको कसुरमा रहेका ३ जना हाजिरी जमानीमा छुटेका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणालाई हाजिरी जमानीमा राखिएको छ । हाजिरी जमानीमा छुटेपछि उहाँहरु अहिले सम्पर्कबिहीन रहेको प्रहरीले जनाएको छ । प्रदर्शनमा कमान्डरका रूपमा रहेका दुर्गा प्रसाईंलाई भने प्रहरीले हिरासतमै राखेको छ ।