काठमाडौं । वैदेशिक रोजगारीका नाममा इजाजत नै नलिएका संस्थाको बिगबिगी, नियमनमा सरकारी बेवास्ता र सरकारी कर्मचारीकै मिलेमतोका कारण भिजिट भिसाका नाममा ठगी बढेको छ ।
अख्तियारले अहिले मानव तस्करसँग मिलेमतो गरी भिजिट भिसामा जानेहरुसँग रकम असुलेको आशंकामा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तिर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । यसले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको जरो अझै गहिरोसँग फैलिएको अनुमान गर्न सकिन्छ ।
आखिर, कसरी र किन भइरहेको छ, भिजिट भिसाका नाममा ठगी ?
वैदेशिक रोजगार विभागमा पछिल्लो १० महिनामा मात्रै ठगीका ४२ सय उजुरी परेका छन् । तीमध्ये ९५ प्रतिशत वैदेशिक रोजगारीका लागि इजाजत नै नलिएका संस्थाविरुद्ध छन् । यसको अर्थ हो वैदेशिक रोजगारीमा विचौलियाको बिगबिगी छ, जसले नक्कली कागजात बनाएर भिजिट भिसामा कामदार पठाउँछन् ।
आप्रवासन क्षेत्रका जानकार मञ्जु गुरुङ भन्नुहुन्छ, 'विचौलियाले सरकारी अधिकारीहरुलाई मोटो रकम दिलाएर भिजिट भिसाका नाममा मानवतस्करी गरिरहेका छन् र यसमा नियमनकारी निकाय आँखा चिम्लिरहेको छ ।'
पान पसल, गेष्ट हाउस, होटल, शैक्षिक परामर्शदाता जस्ता संस्थाहरुले रोजगारीको प्रलोभन देखाएर बेरोजगार युवालाई भिजिट भिसाका नाममा पठाइरहेको छ । सरोकार निकाय वैदेशिक रोजगार विभागले गर्ने अनुगमन भने नाम मात्रको छ ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएर जानेहरुको विषयमा वा नक्कली श्रम स्वीकृति बनाएर ठग्न खोज्नेहरुका विषयमा रेखदेख गर्छ । तर, उसले राम्ररी नियमन गर्न सकेको छैन । अर्कोतर्फ फौजदारी अपराधकै रुपमा भिजिट भिसा मार्फत रकम असुली गरेर श्रम गर्न मानव ओसारपसार गर्ने घटना बढ्दै गएको छ । सरकारी संयन्त्रकै मिलेमतोमा हुने यस्तो अपराधले भयावह रुप लिइसकेको छ ।
ठगिनेमा महिला श्रमिकहरु बढी छन् । १० वर्षअघि संसदीय समितिले गन्तव्य मुलुकसँग गतिलो श्रम सम्झौता गर्न र महिलाको सुरक्षाको प्रत्याभूति दिलाएर मात्र पठाउन भन्यो । तर, यो बीचमा न राज्यस्तरबाट खाडीका देशसँग गतिलो श्रम सम्झौता हुन सक्यो, न भरपर्दो तवरले खुला नै । तर, देशमा रोजगारी नपाउँदाको पीडाले धेरै भारतीय विमानस्थल हुँदै खाडीका देशमा पुगेका छन् भने स्वदेशबाट जानेहरु पनि विचौलियाको फन्दामा पर्ने गरेका छन् ।
खाडी र मलेसियाको वैदेशिक रोजगारी अहिले युरोपतर्फ सरेको छ । तर, धेरै नेपाली जाने माल्टा, क्रोएसिया, रोमानियाजस्ता देशसँग गतिलो श्रम समझदारीसमेत हुन सकेको छैन । संस्थागत तवरले श्रमिक पठाउन नसक्दा त्यसको फाइदा विचौलीयाहरुले लिइरहेको मेनपावर व्यवसायी राजेन्द्र भण्डारीको भनाइ छ ।
सरकारी पदाधिकारीको मिलेमतो र राजनीतिक सेटिङमा ट्राभल एजेन्सी र अन्य दलाल तथा विचौलियमा मार्फत भिजिट भिसा र शैक्षिक भिसा मार्फत विदेशमा गएर श्रम गर्ने कार्य मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अपराध हो ।
यस्तो अपराध रोक्न लाग्नुपर्ने सरकारी संयन्त्र नै भिजिट भिसा मार्फत रकम असुली र ओसारपासरमा लागेपछि अहिले यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । तर, राजनीतिक रुपमा यो प्रकरण जसरी अगाडि बढिरहेको छ यसले थप आशंका जन्माएको छ ।