बथानमै चट्याङ पर्दा २२ भेडाबाख्रा मरे

जेष्ठ ४, २०८२ |डीबी बुढा
बथानमै चट्याङ पर्दा २२ भेडाबाख्रा मरे

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका-२ को झुलेनी पाटनमा बथानमै चट्याङ लाग्दा २२ भेडाबाख्रा मरेका छन् । शनिबार बेलुकीपख परेको चट्याङले दुई किसानका २२ भेडाबाख्रा मरेका हुन् ।

यो सिजनमा घरनजिकै चरन क्षेत्र नहुने भएकाले भेडा पालनका लागि पाटनतिर लैजाने गरिन्छ । वर्षा भइरहेको समयमा ओत लागेर बसेका भेडाको बथानमै चट्याङ परेको थियो । गुठिचौर-२ का वीरेन्द्र बोहोराका अनुसार हिराबहादुर ऐडीका १६ वटा र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा मरेका हुन् ।

हिराबहादुरका ५० र धनकृष्णका ३० भेडाबाख्रा बथानमा थिए । गुठिचौर-२ का वडासदस्य धनबहादुर बोहोराले पाटनमा चट्याङले निकै ठूलो क्षति पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पाटनमा चराएर भेडाबाख्रा घर ल्याइँदै थिए । पानी परेपछि रुखमुनी ओत राखेर बसालिराखेको अवस्थामा चट्याङले हान्यो ।'

हरेक वर्ष भेडाबाख्रा पालेर घर खर्च चलाउँदै आएका हिराबहादुरले भन्नुभयो, 'भेडाबाख्राको चरनका लागि पाटनहरु पनि सुरक्षित छैनन् । कसरी भेडा पालेर जीविकोपार्जन गर्ने होला ।’ 

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द बुढ्थापाले चट्याङले भेडाबाख्रा मारेको पुष्टि गर्नुभयो । भेडा किसानले राहतको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । गुठिचौर-२ का वडाध्यक्ष दीपबहादुर ऐडीले स्थानीय सरकारले किसानलाई राहत दिने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, 'पालिकाको विपद् शाखामा समन्वय गरेर किसानको दुःखमा सहयोग पुर्‍याउँछौं ।'

गुठिचौर-२ स्थित गुठिगाउँका १ सयभन्दा बढी परिवारले भेडाबाख्रा पालन गरेका छन् । गाउँमा ३ हजार ५ सयभन्दा धेरै भेडाबाख्रा पालिएको छ । पाटन र खर्क व्यवस्थापन नहुँदा बर्सेनि सयौं भेडाबाख्रा मर्ने गरेका छन् ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।