भक्तपुरका चारवटै नगरपालिका मनसुनजन्य विपदको पूर्वतयारीमा

वैशाख ३१, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरका चारवटै नगरपालिका मनसुनजन्य विपदको पूर्वतयारीमा

भक्तपुर । जिल्लाका चारवटै स्थानीय तहलाई मनसुनजन्य विपदको पूर्वतयारी अवस्थामा रहन जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निर्देशन दिएको छ । 

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको संयोजकत्वमा बसेको मनसुनजन्य विपद तयारी बैठकले भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकालाई मनसुनजन्य विपदबाट हुनसक्ने क्षति र त्यसको राहत तथा खोज कार्यमा आवश्यक मनसुनजन्य दक्ष जनशक्ति, आवश्यक समाग्री तयारी अवस्थामा राख्न भनेकाे छ । 

साथै, बैठकले मनसुनजन्य विपदका लागि राहत तथा उद्दारका समाग्रीकाे तीन दिनभित्र जिल्ला दैवी प्रकाेप उद्दार समितिलाई जानकारी दिने निर्णय समेत गरेकाे छ । 

मनसुन सुरु हुनै लाग्दा स्थानीयलाई आवश्यक सूचना दिने र मनसुनजन्य विपदबाट उच्च सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।

बैठकले मनसुनजन्य पूर्वतयारी तथा कार्ययाेजना २०८२ स्वीकृत गरी कार्यन्वयनमा लैजाने जनाएकाे छ । बैठकले सूचना संकलन, खाेजी तथा उद्दारका लागि जिम्मेवार निकायले ताकिएकाे जिम्मेवारी पूरा गर्ने, सम्मन्वय र स्थलगत अध्ययनल गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी अर्याले बताउनुभयाे । 

गत वर्षकाे असाेजमा आएको बाढी-पहिरोमा परी भक्तपुरकाे सूर्यविनायक नगरपालिकाकाे वाड नम्बर-२, ८, र ९ मा गरी ४ जनाकाे मृत्यु भएकाे थियाे । भक्तपुरकाे हनुमन्ते खाेला उर्लेर आउँदा खाेला आसपासका बस्ती, विद्यालय, अस्पताल जस्ता भवन डुवानमा परेका थिए । 

यस्तै, किसानले लगाएका तरकारी तथा अन्नबालीम समेत क्षति पुगेकाे थियाे । मनाेहरा खाेलाका आसपासका क्षेत्र समेत डुबानमा परेकाे थियाे भने भक्तपुरका राधेराधे क्षेत्र, जगाति, च्यम्हसिह सडक क्षेत्रसमेत हनुमन्त खाेला पस्दा डुबानमा परेकाे थियाे ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।