करेन्ट लागेर दुई महिलाको मृत्यु

वैशाख ३१, २०८२ |सुशीला पाठक
करेन्ट लागेर दुई महिलाको मृत्यु

मोरङ । मोरङको रतुवामाई नगरपालिका-३ मा करेन्ट लागेर दुई जना महिलाको मृत्यु भएको छ । करेन्ट लागेर रतुवामाई नगरपालिका-३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो ।

स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको थियो । मोरङका प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले विवाह घरमा करेन्ट लाग्दा दुईजना महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

विवाह घरमाथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो भने राती आठ बजे तिर आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्किएकाे बताइएकाे छ । बाँसले हाइटेन्सन लाइनमा छुँदा विहे भइरहेकाे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको प्रहरीका प्रवक्ता जोशीले जानकारी दिनुभयो। 

करेन्ट लागेर ३० वर्षीयाकी राधाकुमारी सिंह सामान्य घाइते हुनु भएको छ । करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

राधाकुमारी सिह भने नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्किनु भएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।