काभ्रेपलाञ्चोक । जिल्लाको मण्डनदेउपुर नगरपालिका-७ स्थित इन्द्रवती खोलाबाट बालुवा लोड गरी फर्किँदै गरेको टिपर दुर्घटनामा परेर चालकको ज्यान गएको छ।
बा ४ ख ३३६६ नम्बरको उक्त टिपर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी जिल्ला नुवाकोटका ४८ वर्षीय चालक लबकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।
उक्त जानकारी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले दिनुभएको हो। घटनास्थलमा प्रहरी चौकी हिगुवापार्टीबाट प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।