नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा थप १५ दिन रातको समयमा यातायात रोकेर मर्मत र विस्तारको काम हुने भएको छ ।
सडक विभागले सूचना जारी गर्दै वैशाख ३१ गते सम्म रातको ११ बजे देखि बिहान ५ बजे सम्म दैनिक ६ घन्टा दाउन्ने क्षेत्रमा यातायात रोकेर काम गर्ने जनाएको छ ।
यस अघि वैशाख १ गते देखि १५ गते सम्म सवारी रोकेर काम गरेको भएपनि पानी परेर जाम हुने, पहिरो खस्ने समस्याले योजनाअनुसार काम गर्न नसकेको कारण समय थप गरेको हो ।
बुटवल नारायणगढ सडकखण्ड विस्तारको क्रममा अहिले दाउन्नेमा पहाड काट्ने, पर्खाल बनाउने र कल्भर्ट निर्माणको काम भैरहेको छ । जसको कारण दाउन्ने खण्डमा सवारी जाम हुने गर्दछ । काम छिटो गर्नका लागि सवारी रोकेर विस्तारको काम गरिएको बुटवल नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका सुचना अधिकारी शशांक मिश्रले बताउनुभयो ।
सडक बन्द भएको समयमा पुर्व तर्फ मालबहाक सवारी अरूणखोला-चोरमारा क्षेत्र र यात्रुबहाक र साना सवारी दुम्किबासमा रोकिने छ । पश्चिमतर्फ बर्दघाट र ज्यामिरे क्षेत्रमा सवारी रोक्नका लागि सडक विभागले आग्रह गरेको छ ।