अछामको साँफे हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट, लाखौँको क्षति

वैशाख १३, २०८२ |खम्म खत्री
अछामको साँफे हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट, लाखौँको क्षति

अछाम । जिल्लाको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको छ । आज बिहान साढे ३ बजे साँफेबगर नगरपालिका-३ स्थित हाटवजारमा आगलागी भएको हो ।

सुवेच्छा होटलबाट विद्युत सर्ट भई सल्कीएको आगोले १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ ।

तीव्र बेगका कारण क्षणभरमै सुवेच्छा होटलबाट आगो सल्किँदै अन्य पसलमा आगो पुगेको थियो । आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, परिचालन गरिएको छ । आगो बिहान ६ बजे नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ । तर, वारूणयन्त्रको अभावमा साँफे हाटबजारमा ठूलो क्षति भएको छ ।  

आगलागीका कारण मानविय क्षति नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रण भएकाे र क्षतिको विस्तृत विवरण अझै आइसकेको छैन ।

यसअघि, चैत्र २६ गते अछामकै जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो। उक्त घटनामा ३५ वटा पसलहरु पूर्ण रुपले ध्वस्त हुँदा ८ करोड बढीको क्षति भएको थियो ।

करोडौको क्षति र दर्जन बढी नागरिकको उठिबास हुने गरी जयगढ आगलागी भएको महिना दिन नबित्दै जिल्ला भित्रै अर्को आगलागीको घटना हुँदा अछामका बासिन्दामा त्रास फैलिएको छ।

स्थानीय सरकार लगायत सरोकारवालाले आगामी दिनमा यस्ता घटनासँगै ठूलो क्षति हुन नदिन दमकलको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।