किसानको अन्नवाली नष्ट पार्दै हात्ती, धपाउन किसानकाे रातभर जाग्राम

वैशाख ११, २०८२ |ओमप्रकाश ठाकुर
किसानको अन्नवाली नष्ट पार्दै हात्ती, धपाउन किसानकाे रातभर जाग्राम

सर्लाही । जिल्लाका किसान यतिवेला जंगली हात्तीका कारण आजित बनेका छन् । जंगली हात्तीले खेतमा लगाएको बालीनाली नष्ट पार्न थालेपछि किसानहरू ज्यान जोखिममा राखेर रातभर जाग्राम बस्न थालेका छन् ।

चैतको अन्तिम सातादेखी जंगली हात्तीले हरिपुर र हरिवन नगरपालिकाका विभिन्न क्षेत्रका किसानलाई दुःख दिइरहेका छन् । जंगली हात्तीले किसानले लगाएको मकैको घोगा खाने र कुल्चेर नष्ट गरिरहेका छन् । 

खेतमा मिहनेत गरेर उब्जाएको मकै बाली हात्तीले खाएर नष्ट गर्दा किसान मारमा परेका छन् । लामो समय भइसक्दा पनि हात्ती नियन्त्रणमा आउन नसक्दा यसको क्षति किसानले ब्यहोर्नु परिरहेको छ । 

बाली जोगाउन किसानहरू ज्यान जोखिममा राखेर रातभरी जाग्राम बस्दै हात्ती धपाउँदै आएका छन् । कतिपय अवस्थामा जंगली हात्तीसँग किसानको जम्का भेट समेत भइरहेको छ । 

बाली जोगाउन ज्यान जोखिममा राखेर हात्ती धपाउनु परेको हरिपुर-२ सखुवाका किसान ईन्द्र बहादुर खड्काले बताउनुभयाे । ‘मिहनेत र लागानी लगाएर उब्जाएको मकै भित्र्याउने बेलामा जंगली हात्तीले नष्ट पार्न थाले, बाली जोगाउन हामी जोखिम मोलेर धपाउन लागिपरेका छौं,’ उहाँले भन्नुधयाे, ‘हामीसँग अरू विकल्प छैन, बालीकालागि त अलिकति रिस्क लिनै पर्यो ।’

यस क्षेत्रमा करिब बीस बिघा भन्दा बढीमा लगाइएको मकै खाएर नष्ट गरेको स्थानीयले जानकारी दिए । दिनभर नजिकको जंगलमा बस्ने हात्ती रातपरेपछि किसानको खेतबारीमा पसेर खाने तथा नष्ट गर्ने गरेको छ । किसानहरूका अनुसार दुईवटा ब्यस्क हात्ती रात परेपछि एकैसाथ खेतबारीमा पुगेर नष्ट गर्ने गरेका छन् । यस वर्ष हात्तीले मकै बाली नष्ट पार्दा लागत समेत नउठ्ने चिन्तामा किसान छन् ।

स्थानीय किसान रवी कडरियाले हात्ती नियन्त्रणमा आउन नसक्दा किसानहरू समुह बनाएर रातभरी धपाउने गरेको बताए । उनले हात्तीले किसानको बालीनाली नष्ट पार्दा पनि स्थानीय सरकार तथा डिभिजन वन कार्यालयको ध्यान पुग्न नसकेको दुःखेसो पोखे । 

जंगली हात्ती खेतबारीमा आउँदा घाँस दाउरा गर्न पनि कठीन भएको स्थानीय लक्ष्मी दाहालले बताउनुभयाे । दिउँसो डराई-डराई घाँस दाउराकालागि खेतबारीमा पुग्ने गरको उनको भनाई छ ।

समान्यतया जंगलमा रहने हात्ती बेला बेला किसानको खेतबारीमा पसेर अन्न खाने तथा नष्ट गर्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन प्रमुख सन्तोष झाका अनुसार हात्तीले क्षति पु¥याएको किसानको बालीलाई भने क्षतिपुर्ति दिइने छ । 

वन प्रमुख झाले जंगली हात्ती बस्ती अथवा खेतबारीमा आउँदा नजिस्काईदिन पनि आग्रह गर्नुभयाे । उहाँले जिस्काउँदा हात्ती आवेगमा आएर ज्यान पनि लिन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयाे । 


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।