
काठमाडौं । स्थानीय सरकारको सेवामा सुधार ल्याउने उद्देश्यले, कागेश्वरी मनोहरा नगरपालिकाले एकीकृत सेवा अवधारणा अन्तर्गत नयाँ कार्य प्रणाली सुरु गरेको छ । यस प्रणाली अनुसार सबै शाखा प्रमुखहरू एउटै राउन्ड टेबलमा बसेर सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।
सेवाग्रहीहरूले सेवा पाउने क्रममा असन्तुष्टि व्यक्त गर्दै सेवाको ढिलासुस्तीले गर्दा अपहेलित महसुस गरेको गुनासो बढेपछि नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनु भयो ।
यस कदमले सेवाग्रहीलाई छरितो र एकरूप सेवा प्राप्त गर्न मद्दत गर्ने प्रमुख कार्कीले बताउनु भयो ।
नगरपालिकाले थालेको नयाँ कार्य प्रणालीलाई सफल बनाउन सके सेवा प्रवाहमा सहजता आउने नगरबासीले पनि विश्वास लिएका छन् । ढिलासुस्ती र कर्मचारीको मनोमानीले देखिएका समस्या समाधान हुनेमा सेवाग्राही आशावादी छन् ।
नयाँ कार्य प्रणालीले सेवा प्रवाहमा पारदर्शिता र समानता सुनिश्चित गर्ने जनाउँदै नगर प्रशासनले यसलाई सफल तुल्याउन सबै पक्षको सहयोग र समर्थन आवश्यक रहेको जनाएको छ ।