मकवानपुर । मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना यात्रु घाइते भएका छन ।
आज बिहान १ बजे मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौं तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनुभयो ।
दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका-५ बस्ने ५० वर्षकी निलम देवी राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी सर्लाही बागमती गाउँपालिका-७ बस्ने १३ वर्षकी मानुसी मगरको घटनास्थलमै मृत्यु भएको हो । उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ५ बजे मात्र दुर्घटनास्थल नजिक खोल्सामा मृत अवस्थामा फेला पारेको थियो ।
दुर्घटनामा घाइतेहरू १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी मोडबाट तल खसेको प्रहरीको अनुमान छ ।
सडकबाट गाडी करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए । गाडी पूर्णरुपमा क्षति भएको छ । चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ ।