काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो, कोशी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने विभागले जनाएको छ ।
कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, गण्डकी, लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राती, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैबीच मेघगर्जन र चट्याङ्ग, वर्षालगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ।