कपिलवस्तु । नेपालमा बैजनी कोईली नामको नयाँ चरा फेला परेको छ । उक्त चरा ईलामको रोङ गाउँपलिकास्थित तल्लो माई भ्याली चरा संरक्षित क्षेत्रको सुखानी वन क्षेत्रमा समुन्द्र सतहदेखि ३ सय मिटर उचाईमा देखिएको हो ।
उक्त चराको पन्छीविद् राजेन्द्र गुरुङ, अनिस तिम्सिना र मलेसियन नागरिक द्वय अलेक्जेन्डर जोनआङ याङ र रोजररोबर्ट राजा चारै जनाले तस्बिर र भिडियो खिचेका थिए । उनी उक्त चरासँग करिब एक घण्टासँगै रहेका थिए । यो फिरन्ते चरा हो ।
चरा अवलोकन गर्दै त्यहा पुगेका उनीहरूले नयाँ चरा देखेपछि तस्बिर र भिडियोसहित विस्तृत सूचना दिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चराविज्ञको टोलीले उक्त चरा नेपालकालागि नयाँ भएको पुष्टी गरेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो । उनीहरूले उक्त चरा चैत्र २५ गते ११ः२० बजे देखेका थिए ।
नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटिलाई नयाँ चराकाबारेमा पुष्टी गर्न भौगोलिक अवस्थासहित विस्तृत जानकारी दिएका थिए । समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय चरा बिशेषज्ञसँग छलफल र राय सुझाव लिएर नेपालकालागि नयाँ चरा भएको निष्कर्षमा पुगेको समिति अध्यक्ष डा. तुल्सी सुबेदीले बताउनुभयो ।
समितिले अंग्रेजीमा (भायलेट कुक्कु) नाम रहेको चराको नेपाली नाम बैजनी कोईली राखेकोछ । कुक्कु प्रजातिको चराको संख्यापनि थपिएर १६ पुगेकोछ । अब नेपालमा चरा पाउनेको संख्या थपिएर ८ सय ९९ पुगेकोछ । मुलुकालागि नयाँ चरा पहिचान गर्न सकेकोमा खुसी लागेको पन्छीविद् राजेन्द्र गुरूङले बताउनुभयो । यस्ले चरा पर्यटनमा लाग्न उत्साह थपिएकोछ उहाँले भने मुलुककालागि कुक्कु प्रजातिको चराको विविधता थप्पन पाउँदा खुसी छु ।
यो चरा भुटान, फिलिपिन्स, सिंगापुर, बंगलादेश, चीन, ब्रुनाई, भारत, ईण्डोनेसिया, मलेसिया र म्यानमारमा आवसिय रुपमा पाईन्छ । भुटान, फिलिपिन्स र सिंगापुरमा प्रजनन् गर्छ ।