यौन दुर्व्यवहारमा परेकी दलित महिला आफ्नै घरमा मृत फेला

वैशाख ३, २०८२ |विनय आजाद
यौन दुर्व्यवहारमा परेकी दलित महिला आफ्नै घरमा मृत फेला

सिरहा। चार महिनाअघि यौन दुर्व्यवहार भोगेकी सिरहाकी दलित महिला हिजो आफ्नै घरमा मृत फेला परेकी छिन् ।

सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुर दोनवारी टोलकी २४ वर्षिया आनन्दी देवी सदाय झन्डै ४ महिनाअघि गाउँकै दुई युवकबाट यौन दुर्व्यवहारमा परेकी थिइन् । 

उनका श्रीमान वैदेशीक रोजगारमा रहेका कारण २ वर्षकी छोरीसँग आनन्दीदेवी माइतीमा बस्दै आएकी थिइन् । आनन्दी देवीको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो।

आनन्दी गत पुष ९ गते सिरहा बरियारपट्टी गाउँपालिका-१ मा बस्ने दिदिलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षिय संजिव कुमार यादव र ३२ वर्षिय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेको आरोप लागेको छ ।

घटनालगत्तै सोहीदिन अपरान्ह छोरीलाई लिएर इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दर्खास्त दिन खोजेपनि घटनाको अढाई महिनापछि फागुन २५ मा मात्रै प्रहरीले पीडकविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको आमा बिल्टौन देवी सदायले बताउनुभएको छ ।

यसबीचमा पीडकको पक्षबाट केही स्थानीयले घटना गाउँमै मिलाउन प्रयास गरेको पनि खुलेको छ ।

प्रहरीका अनुसार, फागुन २६ मा आरोपितहरूविरुद्ध सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी पनि जारी भएको छ । तर, उनीहरूलाई अहिलेसम्म प्रहरीले पक्राउ नगरेको पीडितको भनाइ छ । आरोपितको घरमा प्रहरी पुगे पनि फेला नपरेको महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीले बताउनुभयो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।