सांसद दीपक बोहराको निधन

चैत्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन भएको छ ।

रुपन्देही तीनबाट प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका बोहराको काठमाडौँस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बोहराको स्वास्थ्यमा कोरोना संक्रमणपछि समस्या बढेको थियो । 

पोस्ट कोभिडका कारण उहाँको घाँटीमा समस्या थियो । दिल्लीमा उपचार सम्भव नभएपछि बोहरा उपचारका लागि अमेरिकाको न्यूयोर्क पुग्नुभएको थियो । त्यसयता उहाँले स्पीच थेरापी गर्दै आउनुभएको थियो ।

बोहोरा राप्रपाको राजनीतिमा करिब चार दशकदेखि सक्रिय हुँदै आउनुभएको थियो । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित उहाँ २०४२ सालमा समेत राष्ट्रिय पञ्चायत सदस्यमा विजयी हुनुभएको थियो । 

उहाँ २०३८ र २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री, २०४४ सालमा निर्माण तथा यातायातमन्त्री र २०६७ सालमा वन तथा भूसंरक्षणमन्त्री बन्नुभएको थियो । बोहरा २०७२ मा श्रम तथा रोजगार, २०७३ सालमा आपूर्तिमन्त्री र २०७४ सालमा स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।

बोहराको शव श्रद्धाञ्जलीका लागि आज गृहजिल्ला रुपन्देही लगिने बताइएको छ । भोलि काठमाडौँस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका राखिने र भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

बोहराका श्रीमती र दुई छोरा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.