संखुवासभा । हत्या गरी फरार रहेको अभियोगमा सङ्खुवासभा प्रहरीले चतुरमान तामाङलाई २० वर्षपछि पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोलीले हत्या गरेर फरार भएका चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङलाई पक्राउ गरेको जनाएको छ ।
तामाङले २०६१ चैत २२ गते भोजपुरको अरुण गाउँपालिका-४ जरायोटारका ३६ वर्षे पर्शुराम विश्वकर्माको हत्या गरेका थिए। हत्या अभयुक्त तामाङले जिल्ला अदालत संखुवासभाले २०६७ कात्तिक १७ गते २० वर्ष कैद सजाय सुनाएको थियो ।
उनी विश्वकर्माको हत्यालगत्तै फरार भएका थिए। पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ । गाउँमै लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका तामाङलाई चैत ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो ।