रिंकु सदा प्रकरण : पञ्चायतीमा संलग्न थप दुई जना पक्राउ

फाल्गुन २९, २०८१ |विनय आजाद
रिंकु सदा प्रकरण : पञ्चायतीमा संलग्न थप दुई जना पक्राउ

सिरहा । नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय कारी सदा र ६६ वर्षीय रामदेव सदा छन् ।

उनीहरूलाई फागुन २५ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा जिल्ला अदालतबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनु भयो ।

बलात्कार घटनापछि पञ्चायती गर्ने काममा उनीहरूको पनि भूमिका देखिएको प्रहरीको भनाइ छ । उनीहरूसँगै यस घटनामा अहिलेसम्ममा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

यसअघि बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास पक्राउ परेका थिए ।

यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्य जाहेरीमा नाम किटान नगरिएको भएपनि पञ्चायतीमा भूमिका खेल्ने व्यक्ति हुन् ।

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन जना युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहानमात्रै रुँदै घर पुगेकी थिइन् । तर, २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement