मोरङ । उत्तरी मोरङस्थित पथरी शनिश्चरेमा नयाँ वनस्पति फेला परेको छ । कर्कला वा पिंडालुको परिवारमा पर्ने टाइफोनियम जातको नयाँ प्रजाति फेला परेको हो ।
मोरङका वनस्पति अनुसन्धानकर्ताहरू रिजन ओझा र सुदीप राईले यो वनस्पति फेला पारेका हुन् । टाइफोनियम जातको नेपालमा एउटा मात्र प्रजाति रहेको विज्ञहरूले बताउने गरेको भएपनि कहाँ छ भन्ने अज्ञात थियो ।
सुरुवातमा यो भारत र म्यानमारतिर पाइने टाइफोनियमका अन्य प्रजाति जस्तै टाइफोनियम रक्सबर्गीआई र टाइफोनियम इनोपिनाटमसँग मिल्दोजुल्दो देखिएको थियो। तर, विस्तृत अध्ययन गर्दा अन्यत्र कतै नभेटिएको नयाँ प्रजाति रहेको निष्कर्षमा अनुसन्धानकर्ताहरू पुगेका छन् ।
विश्वका लागि नयाँ फेला परेका प्रजातिहरूको नामकरण सम्बन्धित प्रजातिको वनावट वा फेला परेको स्थानबाट राख्नुपर्ने मान्यता अनुसार अनुसन्धानकर्ताहरूले यस प्रजातिलाई मोरङ जिल्लाको नामबाट टाइफोनियम मोरङ्गेन्स नामकरण गरेका छन् ।
यो वनस्पति न्यून संख्यामा रहेकोले यसको संरक्षणका लागि थप अनुसन्धान गर्नुपर्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।