मानव बेचबिखनविरूद्धकी अभियन्ता दनुवारको निधन

पुस ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मानव बेचबिखनविरूद्धकी अभियन्ता दनुवारको निधन

काठमाडौं । मानव बेचबिखनविरूद्धकी अभियन्ता सुनिता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको छ । बिहान जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा अचेत भेटिनु भएकी उहाँलाई अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आफैं बेचबिखनमा परेपछि अन्य प्रभावितसँग पनि मिलेर उहाँ शक्ति समूह खोलेर मानवबेचविखनविरुद्धको अभियानमा लाग्नुभएको थियो । उहाँलाई अमेरिकी सरकारले २०७५ सालमा ट्राफिकिङ इन पर्सनले सम्मान गरेको थियो । यसबाहेक उहाँले थुप्रै अन्तर्राष्ट्रिय अवार्डसमेत जित्नुभएको छ ।

१४ वर्षकै उमेरमा भारतको मुम्बईमा बेचिएर पुनर्जीवन पाउनु भएकी सुनिताको जीवन सिनेमाको कथाजस्तै छ । सन् १९७७ मा दैलेखमा जन्मनु भएकी सुनितालाई सन् १९९६ मा दलालले नसालु पदार्थ खुवाएर बेहास बनाइ मुम्बईको कोठीमा पुर्याए । बेचिएको ६ महिनापछि सुनिताको उद्दार भयो । नेपाल आएर केही समय गैरसरकारी संस्थाको संरक्षणमा बसेपछि १२ जनाको सहयोगमा शक्ति समूह खोल्नुभयो जसको उद्देश्य थियो-आफूजस्तै पीडित महिलाहरुको उद्दार र पुनस्थापना । सुरुका दिन उहाँका लागि कठिन थियो ।

राज्यकै जिम्मवार अधिकारीहरुले हतोत्साही बनाउने काम गरे । तर झन् दृढ बनेर लक्ष्यमा अघि बढिरहनुभयो । यसक्रममा उहाँले २ हजारभन्दा बढी चेलीको उद्धार गरेर उनीहरूलाई सीपमूलक कामको माध्यमबाट बाँच्ने आधार तयार पारिदिनुभयो जसको थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले उच्च मूल्यांकन गरे । सन् २०१४ मा स्विडेनमा सिटेन अवार्ड’, सोही वर्ष एसिया डेमोक्रेटिभ एण्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता सूचीमा राख्यो।

अमेरिकी विदेश मन्त्रालयले २०७५ मा ट्राफिकिङ इन पर्सन अवार्डले सम्मान गर्यो । उहाँले जीवनमा भोगेका दुख कष्ट र बाँच्न गरेको संघर्ष समेटिएको आत्मकथा आशुको शक्ति समेत प्रकाशित छ । मानव बेचबिखनविरूद्धकी अभियन्ता सुनिता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement