भक्तपुर । भक्तपुर नगरपालिकामा पाँच दिने महोत्सव हुने भएको छ । महोत्सव मंसिर २८ देखि पुस २ गतेसम्म आयोजना हुनेछ ।
भक्तपुर नगरपालिकाको आयोजनामा हुने महोत्सवमा भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्य राखिएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै महोत्सव मूल समारोह समितिका संयोजक तथा भक्तपुर नगर प्रमुख सुनील प्रजापतिले पर्यटन मार्फत नगरको आर्थिक गतिविधि बढाउँदै नगरवासीको आर्थिक विकासमा योगदान पुर्याउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
महोत्सवका लागि नगरपालिकाले १ करोड ५० लाख रुपैयाँको बजेट व्यवस्थापन गरेको छ । महोत्सवबाट ६० लाख आम्दानी हुने अनुमान गरिएको छ । भक्तपुर नगरपालिकाका ८० स्थानमा सञ्चालन हुने महोत्सवमा ३२ वटा विधालाई समेटिनेछ ।