सल्यान । सल्यानमा भएको मिनीट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । सल्यान कपुरकोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको पनि मृत्यु भएको हो ।
दुर्घटना पछि गम्भीर घाइते उनलाई कपुरकोट आधारभुत अस्पतालबाट तत्काल रिफर गरिएपनी दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यो सँगै मृतकको संख्या ४ पुगेको छ । अन्य ७ जना घाइते भएका छन् ।
सल्यानको कपुरकोट गाउँपालिका-६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो ।
घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा रहेका छन् ।
उहाँका अनुसार दुर्घटनामा परेको मिनीट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो ।