जबरजस्ती करणीको आरोपमा हिरासतमा रहेका सहायक हवल्दार शौचालयमा मृत भेटिए

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
जबरजस्ती करणीको आरोपमा हिरासतमा रहेका सहायक हवल्दार शौचालयमा मृत भेटिए

दाङ । दाङको भालुबाङमा नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरी हिरासतमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दार रेवन पचभैया मगर मृत फेला परेका छन् ।

प्यूठान बडडाँडा घर भएका शसस्त्र प्रहरी जवान पचभैया मगर गन्जी र टिसर्टको पासो लगाएर वडा प्रहरी कार्यालय घाेराहीकाे हिरासत शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।

गत असोज २४ गते भालुबाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोकामगर र रेवन पचभैया मगरले जबरजस्ती करणी गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवल्दारलाई नेपाल प्रहरीको जिम्मा लगाइएको थियो । आत्महत्या गरेका रेवन पचभैया मगरले हिजो जिल्ला अदालतमा साविति बयान दिएका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.