लाइन काटिएका उद्योगमा विद्युत् आपूर्ति गर्न प्राधिकरणलाई नियमन आयोगको निर्देशन

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
लाइन काटिएका उद्योगमा विद्युत् आपूर्ति गर्न प्राधिकरणलाई नियमन आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेट/ट्रंकलाइन जोडिएका उद्योगहरुमा काटिएको विद्युत् तत्काल जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्बोधन गर्दै आयोगले तत्काल लाइन जोड्न भनेको हो । आयोगका सचिव मनदेवी श्रेष्ठद्वारा निर्देशन गरिएको पत्रमा भनिएको छ, ‘यस आयोगबाट जारी भएको विद्युत् उपभोक्ता हित संरक्षणसम्बन्धी निर्देशिका, २०८० को दफा १३ को उपदफा (१) देखि उपदफा (१०) सम्ममा उल्लेख भए बमोजिम उपभोक्ताले आफ्नो गुनासो पेस गर्ने विभिन चरणहरुबारे उल्लेख छ । सोही दफा को उपदफा (१०) मा गुनासो समाधान सम्पन्न हुनुभन्दा अघि वितरण अनुमतिपत्र प्राप्त व्याक्ति वा विद्युत् वितरण गर्ने सामुदायिक संस्थाले सम्बन्धित उपभोक्ताको विद्युत आपूर्ति विच्छेद गर्न पाउने छैन भन्ने उल्लेख भएकोमा विभिन्न डेडिकेटेट/ट्रंकलाइन उपभोक्ताहरुबाट आयोगमा प्राप्त निवेदनअनुसार विद्युत् आपूर्ति विच्छेद गरिएको जानकारी आएकोले निर्देशिका, २०६० को दफा १३ को उपदफा (१०) को उलंघन भएको देखिएको हुँदा तत्काल ती उपभोक्ताहरुलाई विद्युत् आपूर्ति कायम गर्न पुन: लाइन जडान गर्नुहुन । (२) माथि प्रकरण (१) मा उल्लेख भएको व्यहोराबाहेक अन्य कुराको हकमा यसैसाथ संलग्न गरिएको गुनासोमा उल्लेख भएबमोजिम किन हुन नपर्ने हो ? त्यस प्राधिकरणको कुनै भनाइ भए सबुत प्रमाणसहित जो भएको व्यहोरा उल्लेख गरी यो पत्र प्राप्त भएको ३० दिन भित्र यस आयोगमा पेस गर्नुहुन ।’

प्राधिकरणले डेडिकेटेट/ट्रंकलाइन उपभोक्ताहरुको विद्युत् लाइन किन काटेको ? भन्दै त्यसबारे प्रमाणसहित स्पष्टीकरण दिनका लागि पनि आयोगले निर्देशन दिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.