खोटाङ । खोटाङमा छुरा प्रहार गरी छिमेकीको हत्या गर्ने तीन युवा पक्राउ परेका छन् ।
वैशाख १ गते साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११, खार्मी निभारेका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेर फरार भएका सोही ठाउँका २२ वर्षीय विकास राई, २० वर्षीय आशन राई र २८ वर्षीय गणेश राई पक्राउ परेका हुन् ।
धनजितलाई छुरा प्रहार गरी फरार भएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काको कमान्डमा खटिएको प्रहरीको टोलीले सोमबार रुपाकोट मझुवागढी नगरपालिका १०, पाथेकाको भसुन्डास्थित धनपति राईको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बेनु कार्कीले जनाए । शरीरका विभिन्न भागमा चोट लागेका धनजितको घटनास्थलमै मृत्यु भएको थियो । उनलाई मादक पदार्थ सेवन गरेका तीन युवाले स्थानीय तिलकबहादुर बस्नेतको मकै बारीमा छुरा प्रहार गरेका थिए ।
सुरुमा स्थानीय भीमबहादुर बस्नेत र तीन प्रतिवादीबीच झगडा भएको थियो । तीन प्रतिवादीले भीमबहादुरलाई घरैमा गएर कुटपिट गरेका थिए तर गाउँले भेला भएर झगडा मिलाएका थिए । केही समयपछि भीमबहादुरले ‘धम्की’ दिएपछि उनीहरु पुन: झगडा गर्न घरमै पुगेका थिए । त्यसको केही समयपछि भीमबहादुरको घर पुगेका धनजितले सम्झाउने क्रममा ३ युवाले छुरा प्रहार गरेको स्थानीय उमेश राईले जनाए ।