सल्यानका कांग्रेस सभापतिलाई कमर्चारीले कुटे, कुटपिट गर्ने कर्मचारी प्रहरीको नियन्त्रणमा

वैशाख २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सल्यानका कांग्रेस सभापतिलाई कमर्चारीले कुटे, कुटपिट गर्ने कर्मचारी प्रहरीको नियन्त्रणमा

सल्यान । नेपाली कांग्रेस सल्यानका जिल्ला सभापति केशबहादुर विष्टमाथि कुटपिट गर्ने पूर्वाधान विकास कार्यालय सल्यानका प्रमुख हरिबहादुर वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत २९ गते राति सल्यानको वनगाड कुपिन्डे नगरपालिकाको बालुवासंग्रहीको एक होटलमा वलीले विष्टमाथि कुटपिट गरेका थिए । वलीले विष्टको हातमा टोक्नुका साथै वियरको बोतलले टाउकोमा प्रहार गरेका थिए । 

मेलमिलाप गर्नेगरी घटनालाई गुपचुप राखिए पनि सहमति हुन नसकेपछि विष्टले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा पूर्वाधार विकास कार्यालयका प्रमुख वलीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले जनाएका छन् । 

चैत २९ गते सल्यान प्रदेश सभा (ख) का सांसद सुरेश अधिकारीसहित सभापति विष्ट सुर्खेतबाट सल्यानतर्फ जाँदै गर्दा राति ९ बजे बालुवासंग्रहीको कृष्ण होटेलमा पुगेका थिए ।  पूर्वाधार विकास कार्यालयका प्रमुख वली, खानेपानी सिँचाई कार्यालय सल्यानका कार्यालय प्रमुख ज्वाला शाही लगायतको समूह पनि त्यही होटलमा खानपिन गर्दै बसिरहेको थियो । दुवैबीच विवाद उत्पन्न भएपछि वलीले विष्टमाथि आक्रमण गरेका थिए । 

विष्टले पिकनिक गएर आएको कर्मचारीको टोलीले विवाद झिकेर आफूमाथि आक्रमण गरेको बताएका छन् भने वलीले आफ्नो प्रतिरक्षाका लागि विष्टमाथि आक्रमण गरेको दाबी गरेका छन् । विष्टको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement