वंश बिस्तारका लागि काेसी टप्पुमा भाले गैंडा ल्याइयो

चैत्र १०, २०८० |आरएन विश्वास
वंश बिस्तारका लागि काेसी टप्पुमा भाले गैंडा ल्याइयो

सप्तरी । काेशी टप्पु वन्यजन्तु आरक्षमा शनिबार एउटा भाले गैंडा राखिएको छ । चितवनस्थित राष्ट्रिय निकुञ्जबाट ल्याइएको मेघौली नामको भाले गैंडा सेल्टरमा राखिएको हाे ।

सप्तरीको कञ्चनरूप नगरपालिका-५ पथरीस्थित वन्यजन्तु उद्वार केन्द्रमा वन तथा वातावरण मन्त्री नवलकिशाेर साहको उपस्थितिमा भाले गैंडा राखिएको आरक्षका संरक्षक अधिकृत रमेश यादवले जानकारी दिए । ८ वर्ष उमेरको मेघाैली गैंडाकाे वजन ३ दशमलव ५ टन छ ।

यहाँ गत असाेज १० मा दुई वटा पाेथी गैंडा राखिएको थियोे । वंश विस्तार गर्ने योजनाका साथ भाले गैंडा ल्याइएको वन तथा वातावरण मन्त्री साहले जानकारी दिए ।

पूर्व मेचीदेखि मधेस प्रदेशकाे जनकपुरसम्म राजमार्गमा एक मात्र रमणीय स्थल काेसी टप्पु रहेकाले  यसलाई व्यवस्थित गर्ने उद्देश्यले गैंडासँगै कृष्णसारसहितका जनावरसमेत राख्ने मन्त्री साहकाे भनाइ छ । उनले आरक्षक्षेत्रमा स्थानीयलाई भइरहेकाे दैनिक समस्या समाधानमासमेत सक्रिय रहने प्रतिबद्धता जनाए ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement