वातावरणीय न्यायमा वायु प्रदूषण बाधक

हामी कहाँ चुकेका छौं र अब के गर्ने ?
चैत्र २१, २०८१ |दिलराज खनाल
वातावरणीय न्यायमा वायु प्रदूषण बाधक

मानिस लगायत सबै प्राणी र वनस्पतिलाई स्वच्छ र स्वस्थ्य वातावरणमा जीउन मन लाग्ने मात्र होइन की जीउनका लागि प्रदूषणरहित स्वथ्य वातावरण अत्यावश्यक हुन्छ । त्यसमा पनि प्राणवायुको रुपमा रहेको स्वस्थ्य हावा त जीउनका लागि पहिलो शर्त नै हो । त्यसैले सन् २०२२ को जुलाईमा संयुक्त राष्ट्रसंघको ७६औं साधारण सभाले स्वच्छ, स्वस्थ्य र दिगो वातावरणीय अधिकारलाई आधारभूत मानव अधिकारका रुपमा मान्यता प्रदान गर्ने घोषणा गरेको थियो । उक्त मानव अधिकारको सुनिश्चतताका लागि राज्य, नागरिक समाज र व्यावसायिक क्षेत्रलाई मिलेर असल अभ्यास अवलम्बन गर्नका लागि संयुक्त राष्ट्रसंघले निरन्तर आव्हान गरिरहेको छ । 

नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्न पाउने मौलिक हकको व्यवस्था गरिएको छ, जसको सुनिश्चतता र प्रभावकारी कार्यान्वयनका लागि न्यायालयले सरकार र व्यावसायिक क्षेत्रका नाममा पचासौं निर्देशनात्मक आदेश दिएको छ । यद्यपि यी पहलहरू नेपालमा नाकाम जस्तै भएका छन्, परिणामतः विगत केही वर्षदेखि नेपाल र खासगरी काठमाडौं उपत्यका वसन्त ऋतुमा विश्वको सबैभन्दा बढी वायु प्रदूषित शहरका रुपमा परिणत हुँदै आएको छ । यसबाट वायु प्रदूषणले वसन्त ऋतुको महिमा मात्र समाप्त गरेको नभई मानव जीवन नै जोखिममा परेको छ भन्ने कुरा सहजै आंकलन गर्न सकिन्छ ।

किन हुन्छ काठमाडौंमा वायु प्रदूषण ? काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) ले विगतका केही वर्षदेखि पटक पटक खतराको तह नाधेको कुरा देखाउँदै आएको छ । यसरी वायु प्रदूषण खतराको तहमा पुग्नुका बहुकारणहरू रहेपनि मुख्य रुपमा वन डढेलो र प्रदूषणका स्थानीय स्रोतहरू नै जिम्मेवार छन् भन्ने कुरा हालसम्मका कैयौं अध्ययनहरुले पुष्टि गरिसकेका छन् । वैज्ञानिक अध्ययनका अनुसार वायु प्रदूषणका दृष्टिकोणले काठमाडौं उपत्यका चक्रव्यूह जस्तै हो, जहाँ खासगरी चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चरनका लागि वसन्त ऋतुमा धाँसै मैदानमा लगाउने गरेको नियन्त्रित डढेलो (कन्ट्रोल फायर) को धुँवा र उपत्यका आसपासका वनहरूमा वनस्पतिजन्य इन्धनको रुपमा खाँदिएर रहेका वनस्पतिहरू (फ्यूल लोडिङ्ग) मा अनियन्त्रित रुपमा लाग्ने लगाउने गरेको वन डढेलोको धुँवालाई वसन्त ऋतुको पश्चिमी वायुले सजिलै धकेलेर उपत्यकामा भित्र्याउँछ तर यसरी उपत्यकामा भित्रीएको धुँवा उपत्यकाको भौगोलिक बनावट र तल्लो तहमा हुने प्रदूषित तातो हावालाई माथिल्लो तहमा जम्मा हुने चिसो हावाले उड्न नदिएका कारण यहाँको प्रदूषित धुँवा र हावा बाहिर फूत्किन पाउँदैन । त्यसैमाथि उपत्यकामा पत्रु सवारी साधन चलाउँदा र अनियन्त्रित रुपमा फोहर जलाउँदा उत्सर्जित भएको दुर्गन्धित धुँवा वन डढेलोका कारण भित्रिएको धुँवामा मिश्रण हुँदा झनै भयावह रुपमा वायु प्रदुषण हुन पुग्छ । यो तथ्य बुझेर वन डढेलो र स्थानीय स्रोतबाट उत्सर्जित धुँवा नियन्त्रणका लागि समयमै आवश्यक कदम नचाल्दासम्म वसन्त ऋतुमा हुने उपत्यका प्रदूषणबाट मुक्ती पाईने कुराको कल्पना गर्न सकिदैन ।

समग्र प्रणाली प्रभावितः प्रदूषित वायुले श्वास प्रश्वास समस्या, हृदय रोग, क्यान्सर, प्रतिरक्षा प्रणालीमा क्षति तथा आँखा, घाँटी र छाला जलन जस्ता मानव स्वस्थ्य समस्याका साथै ओजोन तहको क्षति र अम्लिय वर्षा समेत गराउँदछ, जसका कारण वनस्पति, कृषि र पशुपन्छीका साथै समग्र पारिस्थितिकीय प्रणालीमा समेत उल्लेखनीय नकारात्मक असर पार्दछ । परिणामतः स्वास्थ्य उपचारमा खर्च बढ्ने र श्रम उत्पादनशीलता एवं कृषि तथा खाद्य उत्पादन नै घट्न गई समग्र आर्थिक प्रणाली नै प्रभावित हुन पुग्दछ भन्ने कुरा सबैलाई ज्ञात भएकै विषय हो । त्यसैले राज्य, व्यावसायिक क्षेत्र र नागरिक समाजले साझा प्रयास गरी वायु प्रदुषण कटौती वा न्यूनीकरण नगर्ने हो भने यसले अकल्पनीय र अपुरणीय क्षति पुग्न गई पश्चाताप गर्नुपर्ने अवस्था सृजना हुनेछ ।

हामी कहाँ चुकेका छौं र अब के गर्ने ? विगतमा नेपालमा वायु प्रदूषण हुनुमा भारतको विहार, उत्तर प्रदेश, हरियाणा र पञ्जावका कृषिभूमिमा लगाईएको आगोबाट सृजित धुँवालाई दोष दिएर पञ्छिने काम गरियो । उक्त कार्यबाट केही हदसम्म नेपालमा वायु प्रदूषण भएपनि हाम्रा आफ्नै गतिविधिहरू नै यहाँको वायु प्रदूषणका लागि मुख्य जिम्मेवार छन् भन्ने कुरा बिर्सियौं । काठमाडौंमा भएको वायु प्रदूषणमा अरुलाई वा छिमेकीलाई दोषारोपण गरेर उम्किने दाउँ हेर्नु नागरिकको स्वच्छ, स्वस्थ्य र दिगो वातावरणमा बाच्न पाउने मानव अधिकार र मौलिक हकप्रतिको जवाफदेहिविहिनता वा धोका हो । वायु प्रदूषणको एक प्रमुख कारण संरक्षित क्षेत्र र वनमा हुने डढेलो नै हो भन्ने कुरा स्पष्ट भईसकेपछि उक्त डढेलो न्यूनीकरणको काम त वनमा नै हुनु पर्थ्यो । वन डढेलो दन्किएको दृष्य हेर्दै "रोम जली रहेछ, निरो (Nero) को बाँसुरी बजिरहेछ" भन्ने पाराले नीति रणनीति मात्र बनाईरहने, तारे होटलमा वन डढेलो गोष्ठी मात्र गरीरहने र शहर बजारमा वन डढेलो र्याली गरी रमाउने प्रवृत्तिले वन डढेलो न्यूनीकरण वा वायु प्रदूषण कम हुँदैन । यसका लागि त संरक्षित क्षेत्रमा वन्यजन्तुको चरनका लागि बसन्त ऋतुपूर्व नै नियन्त्रित डढेलो लगाई सक्नुपर्ने कानुनी व्यवस्था र योजना बनाई सोको ईमान्दारितापूर्वक कार्यान्वयन हुनु जरुरी छ । यसैगरी वन क्षेत्रमा रहेको प्रज्वलनशिल वनस्पतिलाई प्रत्येक वर्ष वसन्त ऋतुपूर्व नै संकलन गरी वा हटाई प्राङ्गारिक मल वा कोइला लगायतका बैकल्पिक उर्जामा परिणत गर्नका लागि स्थानीय समुदायलाई प्रविधि र सीप सम्पन्न बनाउनु पर्ने हुन्छ, जसबाट धेरैहदसम्म डढेलो नियन्त्रण भई वायु प्रदूषणमा न्यूनीकरण हुन्छ ।

राज्य संयन्त्रको निरिहता र नाकामीपनका कारण मानिसले नाफा र स्वार्थका लागि सृजना गरेको वायु प्रदूषण प्रकृतिले हटाईदेला र हाईसञ्चो होला भनी गैरजिम्मेवारी र जवाफदेहिताविहिन भएर बस्नु नै हाम्रो महाभूल हो । पत्रु सवारी साधन चलाएर वायु प्रदूषण गरी द्रव्यमोहमा मात्र ध्याउन्न हुनु पनि वायु प्रदूषणको अर्को प्रमुख कारण हो । यो चुनौती सम्बोधन गर्न त सरकार र व्यावसायिक क्षेत्र जिम्मेवार बन्नै पर्ने हुन्छ । पत्रु सवारी साधन चलाई वायु प्रदूषण गर्नेलाई प्रचलित कानुनको दायरामा ल्याई दण्डित गर्ने र पत्रु सवारी बन्द गरिएमा केही हदसम्म वायु प्रदूषण न्यूनीकरण हुन्छ । अन्यथा वायु प्रदूषणका कारण विरामी परेका सबै नगरिकको राज्य र व्यावसायिक क्षेत्रले निःशुल्क उपचार गर्नुका साथै संबैधानिक रुपमा क्षतिपूर्ति पनि व्यहोर्नु पर्छ भन्ने कुरा बिर्सन पाईदैन । संसारको सबै भन्दा प्रदूषित शहरको कलंकित पहिचान हुनबाट काठमाडौंलाई बचाउने हो भने राजनीतिक प्रतिवद्धता पनि चाहिन्छ । यसका लागि उपत्यकाको फोहर संकलनमा हुँदै आएको राजनीतिकरण र दलीय स्वार्थ्यको द्बन्द्ब अन्त्य गरी फोहरलाई प्रदूषणमा हैन, पैसामा परिणत गर्नेगरी व्यावसायीकरण गर्नु जरुरी छ । यसो गर्दा फोहरलाई जलाउनु हैन, गलाउनु पर्छ ।

(खनाल प्राकृतिक स्रोत व्यवस्थापन कानुनको क्षेत्रमा कार्यरत छन्।)