विवाह गर्ने उमेर कति ?

माघ २४, २०८१ |डा देवकी आचार्य
विवाह गर्ने उमेर कति ?

विवाह गर्न पाउनु सबै मानवको नैसर्गिक अधिकार हो । तर विवाह गर्नका लागि संसारका सबै राष्ट्रले आ-आफ्नो देशका रीतिथिती, चालचलन, संस्कृति, प्रचलन, अवस्था र संस्कारका आधारमा कानुन निर्माण गरी उमेर हद कायम गरेका हुन्छन् । मुलुकी देवानी संहिता, २०७४ को दफा १७३ ले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह भनी व्यवस्था गरेको छ । धेरै देशहरूको कानुनले तोकेको उमेरभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाहको परिभाषाभित्र राखेको देखिन्छ । यसै सन्दर्भमा नेपालको संविधानको धारा ३९ मा बालबालिकाको १० वटा हकको संवैधानिक व्यवस्था गरिएको छ ।

बालबालिकाको हक, हित र अधिकारको प्रचलन गराउनका निम्ति बनेको बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को (ण), मुलुकी अपराध (संहिता) ऐन, २०७४को दफा १७३ (१), बालविवाहसम्बन्धी रणनीति, २०७२ र बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीति, २०८१ को मस्यौदामा पनि विवाहको उमेर हद २० तोकिएको छ । २० वर्षभन्दा कम उमेरमा गरिने विवाह बालविवाह हो र यो स्वतः बदर हुने व्यवस्थाका साथै यदि कसैले बालविवाह गराएमा तीन वर्षसम्म कैद सजाय र ७५ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्थासमेत रहेको कानुनी व्यवस्था कार्यान्वयनमा छ ।

२०८१ माघ २ मा बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले केही ठाउँका सीमित वयस्कसँग भएको अनुगमन, छलफल र भेटघाटलाई आधार मानेर विवाहको उमेर कम गर्न दिएको सुझाव आफैँमा दुःखद छ ।

उमेर कम गर्नु नै समस्याको समाधान होइन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ६ वटा प्रदेश (कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश) र सङ्घीय तहमा समेत गरेको बालविवाह अन्त्यसम्बन्धी मस्यौदा रणनीतिमाथिको परामर्शका क्रममा कुनै पनि प्रदेशमा विवाहको उमेर घटाउने सुझाव आएको थिएन । बरु, कसरी बालविवाह अन्त्य गर्ने भन्ने सन्दर्भमा सुझाव, नीति तथा कार्यक्रम निर्माण, बजेट विनियोजनसहित तीनै तहका सरकार तथा अन्य सबै सरोकारवाला निकाय, व्यक्ति तथा नागरिक समाजले सक्रियताका साथ रणनीति तयार गरी काम गर्न सकियो भने बालविवाह २०३० सम्म अन्त्य गर्न सकिन्छ भन्ने सुझाव प्राप्त भएको थियो ।

बालविवाहको तथ्यगत अवस्था

२०६८ को जनगणना अनुसार १५ देखि १९ वर्ष उमेरमा ४८.८६ प्रतिशत, १० देखि १४ वर्ष उमेरमा १०.२१ प्रतिशत र १० वर्षमुनिका १ प्रतिशतको पहिलो विवाह भएको देखिएको थियो भने राष्ट्रिय जनगणना २०७८ अनुसार १८ देखि २० वर्षको उमेरमा ३४.४ प्रतिशत, १५ देखि १७ वर्षको उमेरमा २२.३ प्रतिशत, १०-१४ वर्षको उमेरमा ७ प्रतिशत र १० वर्षमुनिको उमेरमा ०.३ प्रतिशतको पहिलो विवाह भएको देखिएको छ । यस तथ्याङ्कअनुसार हाल बालविवाह तुलनात्मक रूपमा कम हुँदै गएको देखिन्छ । तथापि बालविवाह भने कायमै छ ।

दिगो विकास लक्ष्य ५.३ अनुसार नेपाल सरकारले २०३० सम्ममा १५ देखि १९ वर्ष बीचको विवाहको प्रतिशत ४.१ मा झार्ने प्रतिबद्धता जनाएको छ । सबैभन्दा बढी संख्यामा विवाह हुने उमेर १८ देखि २० भएको हुँदा यो एक चुनौतीको रूपमा रहेको छ । यसका विषयमा नीति कार्यक्रमसहित योजना बनाइ काम गर्नुपर्ने समयमा हाल कार्यान्वयनमा रहेको विवाहको उमेर २० भन्दा कम गर्ने विषयमा भएका छलफल र सुझाव हाम्रो देशको परिवेशमा अमिल्दो र बालबालिका तथा किशोरकिशोरीको अधिकार विपरीत हुने कुरामा कुनै दुईमत नहोला ।

अहिले संघ प्रदेस र स्थानीय तह गरेर ७६१ वटा सरकारहरू देश र जनताको हक, हित र अधिकारको सुनिश्चितताका लागि स्थापित भएर आ-आफ्ना तह र स्तरबाट, ऐन, कानुन, नीति, नियम, कार्यविधि, रणनीति, कार्यक्रम, बनाएर काम गर्ने प्रयास गरिरहेका छन् । यही प्रक्रिया अपनाइ सबै स्थानीय सरकारले तदारुकताका साथ काम गरेको खण्डमा बालविवाह अन्त्य गर्ने लक्ष्य र उद्देश्यमा पुग्न कुनै पनि समस्या रहदैन ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ (NDHS,2022) ले नेपालमा २० देखि २४ वर्ष उमेर समूहका ३९.५ प्रतिशत महिलाको विवाह १८ वर्ष पुग्नुअगावै भएको उल्लेख गरेको छ । अर्कोतर्फ यही उमेर समूहका १०.३ प्रतिशतमात्र पुरुषहरूको विवाह १८ वर्षभन्दा कम उमेरमा हुने गरेको छ । नेपालमा बालविवाहको दर विकास क्षेत्र, बसोवास क्षेत्र, आर्थिक–सामाजिक अवस्था, जातजाति, धर्म, समुदाय तथा शैक्षिक अवस्थाको विविधता र अन्य भिन्नताका आधारमा फरक-फरक रहेको छ । शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका महिलाको सामान्यतया कम उमेरमा विवाह हुने गरेको देखिन्छ । कम आयस्रोत भएका परिवारका बालिका तथा किशोरीहरू बालविवाहको बढी जोखिममा देखिन्छन् । त्यस्तै, आर्थिक अवस्था सबल भएका भन्दा कमजोर भएका महिलाहरूको सालाखाला दुई वर्ष कम उमेरमै विवाह हुने गरेको देखिएको छ । बालबालिकासम्बन्धी स्थिति प्रतिवेदन, २०८१ अनुसार देशका केही क्षेत्रहरूमा बालविवाहको दर उच्च रहेको पाइएको छ । मधेशी समुदायका साथै सीमान्तकृत समूहहरू जस्तै-दलित, जनजाति र मुस्लिम समुदायमा अन्य समुदायको तुलनामा बालविवाहको दर उच्च रहेको अध्ययनले देखाएको छ ।

२० देखि २४ वर्षका व्यक्तिले १८ वर्षभन्दा कम उमेरमा विवाह गरेको जनसंख्याको अनुपातलाई हेर्दा बालविवाह शिक्षितभन्दा शिक्षाको स्तर कम भएका वा निरक्षर परिवार वा समुदायमा बढी हुने गरेको छ । यसैगरी, आर्थिक सम्पन्नताका कारणले पनि बालविवाहको दर कम र बढी हुने गरेको देखिन्छ । आर्थिक अवस्था अति न्यून रहेको परिवारमा २०.८ प्रतिशत, न्यून १७.८ प्रतिशत, मध्यम १५.६ प्रतिशत, उच्चमा ११.७ प्रतिशत र अतिउच्च आर्थिक अवस्था भएका परिवारमा ४.९ प्रतिशत (बालबालिका सम्बन्धी स्थिति प्रतिवेदन, २०८१) रहेको देखिनु पनि बालविवाह अन्त्य गर्नका निम्ति शिक्षा र आर्थिक अवस्थाले निकै प्रभाव पारेको देखिन्छ त्यसैले यी क्षेत्रमा थप प्राथमिकता दिन जरुरी देखिन्छ ।

वयस्कहरू सबैले एकपटक आफ्नो जीवनको १५ देखि १९ वर्षबीचको उमेरलाई फर्केर हेर्दा पनि विवाहको उमेर कति हुनु उपयुक्त हुन्छ भन्ने कुरा निर्क्यौल गर्न सकिन्छ । हामी शैक्षिक, मानसिक, शारीरिक तथा आर्थिक हिसाबले कतिको सम्पन्न र सवल बनेका हुन्छौं यस उमेर समूहमा र अब आउने पुस्ता यो उमेरसम्ममा कतिको सबल हुन्छन् एक पटक आकलन गरौँ । हाम्रो शारीरिक विकासले १९ वर्ष पूरा हुँदासम्मको उमेरमा कति परिपक्व बन्न सकियो ? हाम्रा सोच कति परिपक्व थिए ? एक बालिका वा किशोरी अर्को व्यक्तिको घरमा विवाह गरी प्रवेश गर्दा र एक किशोरले आफू कुनै पनि हिसाबले परिपक्व नभई विवाह गर्दा ऊप्रति परिवार र समाजले राख्ने अपेक्षा पूरा गर्न कत्तिको मजबुत भएका हुन्छन् ? शैक्षिक स्तरको हिसाबले भन्ने हो भने बल्ल स्नातक तहको खुट्किलो टेक्दै वा बीचमा पुग्दैको अवस्था हुन्छ, मानसिक परिपक्वताले बल्ल संकटासन्न अवस्थाको उमेर पार गरेर अलिकति परिपक्वतातिर ढल्केको हुन्छ, आर्थिक हिसाबले भन्नुहुन्छ भने आत्मनिर्भरता, रोजगारी, उद्यमशीलतातिर लाग्ने र कमाइ गर्ने उमेर भएकै हुँदैन, उनीहरू आफू त आर्थिक रुपले सबल भै–नसकेको, जीविकोपार्जन गर्न सक्षम नभैसकेको अवस्थामा परिवार र भावी सन्ततिको रेखदेख कसरी गर्न सक्छन् ? यी सबै विषयलाई हामीले फर्केर हेर्‍यौँ भने अझै यो उमेर बढाउनु पर्ने हुन सक्ला तर घटाउने विषय कुनै तर्क नै हुन सक्दैन ।

विकसित मुलुकसँगको तुलना, नेपालमा गरेर हुँदैन । विकसित मुलुकहरूले कार्यान्वयन गरेका सामाजिक सुरक्षाका आयामहरू, बालबालिका आमाको गर्भमा आएदेखि जन्मने विषयका सबै तथ्याङ्क अध्यावधिक हुनेदेखि बच्चा नहुर्कँदासम्मको सम्पूर्ण सेवा सुविधा सरकारले प्रदान गर्ने देश र आफ्ना लागि सबै आफैले गर्नुपर्ने देशबीच तुलना गर्नु हुँदैन ।

हाम्रो देशमा पूरा परिवार युवा पुस्तामा नै निर्भर हुने, पारिवारिक दायित्व, पूर्ण रूपमा बालबालिकाको रेखदेख र हेरचाह आफैं ले गर्नुपर्ने जिम्मेवारी, माइतीमा माया ममतामा हुर्केकी बालिका वा किशोरी नयाँ घरका सदस्य र उहाँहरूले बुहारीमाथि राख्ने धारणा, बुहारी हुनुको काम र कर्तव्य, जिम्मेवारी तथा महिलाले विवाह गरेर गैसकेपछि र पुरुषले विवाह गरेर ल्याइसकेपछि एकैपटक वैवाहिक जीवनमा प्रवेश गर्दा परिवारमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयलाई पनि राम्ररी हेर्नुपर्ने हुन्छ । किशोरावस्थाको सोच र धारणा अनि समाजको अपेक्षा सबै विषय आफैमा गहन र गम्भीर छन् । यी सबै विषयलाई नियालेर हेर्दा हाल विद्यमान रूपमा रहेको विवाहको उमेर नै उपयुक्त मानिन्छ ।

बालविवाह/कम उमेरमा हुने विवाहका असरहरू

२० वर्ष उमेर पूरा नभई विवाह गर्न नहुनुको मूल कारण भनेको सबल र सक्षम मानव पूँजी निर्माण गर्नु, समृद्ध नेपाल र सुखी नेपालीको अभिष्ट पूरा गर्नु, मानव विकास सूचाङ्क प्रगति पथमा लम्कनु, राष्ट्रिय विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको कार्यान्वयन गर्नु, बाल अधिकारको संरक्षण गर्नु, बालबालिका र किशोरकिशोरीमा हुने नकारात्मक असरको प्रभाव कम गर्नु, न्याय, समतामूलक र सभ्य समाजको निर्माण गरी शान्त र सक्षम समाज निर्माण गर्नु रहन्छ ।

कम उमेरमा नै गरिने विवाहले बालबालिका तथा किशोरकिशोरीको शारीरिक एवम् मानसिक विकासमा असर पारिरहेको हुन्छ । यो उमेरमा विवाहले पार्ने असर बुझेर विवाहको सहमति जनाउने क्षमताको विकास भएको हुँदैन, शरीर र जीवनको विषयमा निर्णय गर्नसक्ने क्षमता विकास भएको हुँदैन । यदि यो भन्दा कम उमेरमा विवाह भएको खण्डमा बालबालिका तथा किशोरकिशोरीहरू शिक्षा प्राप्तिबाट वञ्चित, रोजगारीको अधिकारबाट वञ्चित हुन्छन् । परनिर्भरता हुन्छ, शैक्षिक स्तरमा पूर्णता प्राप्त गर्न सक्दैनन्, स्वास्थ्य अवस्थामा क्षयीकरण हुन्छ, प्रजनन स्वास्थ्यमा समस्या आउछ, बाल मृत्यु तथा मातृ मृत्युको भय हुन्छ, यौनशोषण तथा लैङ्गिक/घरेलु हिंसाको भय हुन्छ, मानसिक तनाव, विभिन्न किसिमका रोगहरूको डर, प्रगतिका पथमा बाधा पर्नु, सामाजिक सम्मानमा आँच आउनु, बालश्रममा पर्नसक्नु, बेचबिखन जस्ता जघन्य अपराधका सिकार बन्नु, छिटै विधवा वा विधुर बन्नसक्ने, परिवारमा विचलन आउन सक्ने, आत्महत्या गर्ने अवस्थामा समेत पुग्न सक्नेलगायत प्रशस्तै समस्याहरू बालविवाहका कारण पैदा भएको देखिएको छ ।

कम उमेरमा नै विवाह गर्दा बालबालिका तथा किशोरीहरूको प्रजनन स्वास्थ्यमा समेत निकै असर पर्दछ । उनीहरूको शारीरिक अवस्था गर्भावस्थाका लागि तयार भएको हुँदैन, जसले गर्दा गर्भाशय फाट्नसक्ने, रक्तस्राव र प्रसवको समयमा आमा र बच्चा दुवैको मृत्यु हुनसक्ने, पछि गएर क्यान्सरसम्मको घातक रोग लाग्नसक्ने जोखिम हुन्छ । शारीरिक अस्वस्थता र थकावट हुनसक्छ, गर्भपतन गराउनुपर्ने अवस्था देखिन्छ । सुरक्षित गर्भपतनको सुविधा नपाउन सक्छन् जसले गर्दा अनियन्त्रित गर्भपतन र स्वास्थ्य समस्याहरु निम्त्याउछ । यसका साथै निमोनिया, एनीमिया र कुपोषणजस्ता समस्याहरू पनि देखिने गरेका छन् जसले गर्दा कम उमेरमा विवाह गर्नु भनेको सबै तर्फबाट समस्याको जालोमा फस्नुजस्तै हो त्यसैले विवाहको उमेरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ ।



Enter Kantipur TV HD
Advertisement