“फर्मुला चलचित्र बनाउन बन्द गरिदिनुस्, दर्शकले हेर्न छोडिसके” हालसालै एक अन्तर्वार्तामा भारतीय चलचित्र निर्देशक अनुराग कश्यपले भनेका थिए । कश्यपले बलिउडलाई लक्ष्यित गर्दै दिएको यो अभिव्यक्ति अहिलेको सन्दर्भमा नेपालका लागि पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
हुन त नेपालमा पछिल्लो केही वर्षयता विविध संस्कृति र रीतिरिवाज विशेषका कथालाई आधार मानेर फरक धारमा चलचित्र बनिरहेका छन् । यस्ता चलचित्रले दशकौंदेखि चलिआएको शैली र मान्यतालाई तोड्ने कोसिस गरिरहेकै छ । यो वर्ष त्यो क्रम अझै बढेको छ । वर्षकै सुरूमा आएको ‘बोक्सीको घर’ होस् कि दशैं र तिहारमा लागेका ‘ज्वाइँसाब’ र ‘तेलभिसा’ होस्, वा हालसालै रिलिज भएको ‘कार्साङ’, यी सबै यसकै उदाहरण हुन् ।
पछिल्लो एक दशकलाई हेर्ने हो भने नेपालमा चलचित्र निर्माणको संख्या घटबढ भइरहेको देखिन्छ ।
ठ्याक्कै एक दशकअघि अर्थात २०७१ सालमा ८३ वटा नेपाली चलचित्र प्रदर्शन भएका थिए । जसमध्ये केहीले मात्र लगानी उठाए । २०७२ सालमा प्रदर्शन भएका चलचित्रको संख्या घटेर ६२ पुग्यो । त्यो वर्ष देशमा विनाशकारी भूकम्प गएको थियो, भूकम्पकै ‘धक्का’ नेपाली चलचित्र क्षेत्रलाई पनि लाग्यो । हुन त संख्यामा कम देखिए पनि केही चर्चित र आर्थिक आकडामा पनि सुपरहिट चलचित्र त्यही वर्ष बनेका थिए- होस्टल रिटर्नस्, वडा नम्बर ६, परदेशी, पशुपतिप्रसाद, कबड्डी कबड्डी आदि ।
त्यसपछिका वर्षमा नेपाली चलचित्रको बजार मुर्झाउन थाल्यो । यद्यपि, चलचित्रले लगानी नै नउठाए पनि निर्माताहरूले पैसा खन्याउन भने छोडेनन् । ०७३ मा ९२ वटा, ०७४ मा ७९ वटा, ०७५ मा १०३ वटा चलचित्र प्रदर्शन भए ।
०७६ सालको फागुनसम्ममा ५९ वटा चलचित्र हलमा लागेका थिए । चैत लागेसँगै कोभिड-१९ महामारीका कारण लकडाउन भयो । कोभिडको प्रभाव विश्वभरका चलचित्रकर्मी, प्राविधिक लगायत अन्य सम्बद्ध व्यक्तिमा र समग्र चलचित्र क्षेत्रमै परेको थियो, नेपालमा असर नपर्ने कुरै भएन । परिणामतः २०७७ सालमा जम्मा सात नेपाली चलचित्र रिलिज भए- त्यो पनि कुनै हलमा, कुनै ओटीटीमा ।
कोभिडको प्रभाव ०७८ मा पनि थियो । चलचित्र निर्माणको संख्या कनिकुथी २३ मा पुगेको थियो । ती पनि केही त युट्युबमै प्रदर्शन भए । अरू ओटीटीमा मात्र प्रदर्शन भए ।
यो बीच हलमै गएर चलचित्र हेर्ने नेपाली दर्शक पातलिइसकेका थिए । चलचित्र हेर्न नयाँ पुस्ता पनि तयार भइरहेको अवस्था थियो । स्वाभाविकै थियो- नयाँ पुस्ताले नयाँ स्वाद खोजिरहेको थियो ।
फाट्टफुट्ट चलचित्रकर्मीहरूले पनि दशकौंअघिको चलचित्र निर्माण शैली र कथामा परिवर्तन ल्याइरहेका थिए । नयाँ निर्देशक, समाजको कथा, मौलिक कथ्यशैली भित्रिइरहेका थिए । तर एकाध बाहेक समग्रमा चलचित्र चलेकै थिएनन् । अधिकांशले लगानी समेत उठाएनन् ।
०७९ सालमा आएर चलचित्र निर्माणले फेरि गति लियो । उक्त वर्ष ४७ वटा चलचित्र प्रदर्शन भए । जसमध्ये केही चले, केही पानी पनि भन्न नपाउने गरी फ्लप भए ।
चलचित्र बन्ने क्रम बढेको देख्दा चाहिँ पुरानो दिन फिर्छ कि भन्ने आश धेरै चलचित्रकर्मीले गरेका थिए । तर सोचे जस्तो भएन, ०८० मा जम्मा ५० चलचित्र पर्दामा आए । जसमध्ये पशुपतिप्रसाद २, दिमाग खराब, जारी, महाजात्राले दर्शकहरुलाई हलसम्म डोर्याए । जारी र महाजात्रा त धेरैपछि सुपरहिट चलचित्रको रूपमा दर्ज पनि भए । महाजात्राले १३ वटा हलमा ५१ दिन मनायो भने, जारीले केही मल्टिप्लेक्स र एक दर्जन जति सिंगल थिएटरमा ।
अब कुरा गरौं, यो वर्षको । ०८१ सालको वैशाखदेखि पुससम्म आइपुग्दा लगभग ३५ वटा चलचित्र प्रदर्शन भइसकेका छन् । वर्षको सुरूबाटै बोक्सीको घर र मनसराले हल खचाखच थिए । केही चलचित्रहरू राम्रा हुदाँहुदै पनि चलेनन् । दशैं र तिहारको छेको पारेर आएका फिल्महरू छक्का पञ्जा ५, १२ गाउँ, ज्वाइँसाब र पूर्णबहादुरको सारंगीले थामिनसक्ने दर्शक भेटाए । पूर्णबहादरको सारंगीले त कमाइको ऐतिहासिक कीर्तिमान नै राख्यो । निर्माताका अनुसार तिहारमा आएको तेल भिसाले १२ वटा हलमा ५१औं दिन मनायो । यो वर्षको ६ महिनामा लगभग एक दर्जन चलचित्र हिट भइसके, त्यसमा केहीले राम्रो व्यापार गरे त केहीले खर्चपानी उठाए ।
यी त भए समग्र चलचित्र क्षेत्रका कुरा । अब लागौं, पुस २६ मा प्रदर्शन भएको चलचित्र कार्साङ्तर्फ ।
करिब दुई घण्टाको यो चलचित्र शेर्पा समुदायले बच्चा जन्माउन गर्ने भाकल र त्यो पूरा गर्न पालिएको बोको काट्नुपर्ने परम्परामा केन्द्रित छ । भाकलपछि छोरा जन्मिएको निकै वर्ष हुँदा पनि बोका काटेर आफ्ना इष्ट, दाजुभाइ, घरगाउँलेलाई भोज खुवाउन नसकेको पात्र दावाले गरेको संघर्षकै वरिपरि चलचित्र घुमेको छ ।
चलचित्रको निर्देशन, कथा, संवाद सबैमा यम शेर्पा आफैं छन् । आफ्नै जातिको परम्परा पूरा गर्न नसकेर बसाइँ हिँडेको कथालाई चलचित्रमा उतार्न खोज्नु निर्देशकको हिम्मत नै मान्नुपर्छ । भलै केही ठाउँमा उनी नराम्ररी चुकेका छन् । एउटै जातिको संस्कृति, चालचलनमा आधारित फिल्मको मुख्य पात्र ल्होसार मनाउँदै गर्दाको गीतमा भने एक्कासि धान नाचिरहेको लिम्बू बन्दा एकछिन त दर्शक रनभुल्लमा पर्छन् । त्यसपछि घलेक लगाएको गुरुङ बन्दा ‘नेपाली चलचित्र यस्तै हो फेद न टुप्पो’ भन्ने लागेर अर्थ खोज्नु हुँदैन भन्ने नलागेको पनि होइन । यति हुँदाहुँदै पनि दर्शकलाई दुई घण्टा मज्जाले शेर्पा जातिको खाना, रीतिरिवाज, र परम्परालाई भने पर्दामा मेहेनत गरेर उतारेका छन् निर्देशकले ।
चलचित्रमा क्यामरा वर्क राम्रो देखिए पनि पार्श्व ध्वनि र गीतमा भने खासै दर्शक तानिँदैनन् । चलचित्रमा दयाहाङ राई, सिर्जना निङ्लेकु, दीया मास्के, जितु नेपाल, प्रेम लोप्चन, यसेली लिम्बू, बुद्धि तामाङ, बाल कलाकार राशि लिम्बू र सोहन थापाको अभिनयमा खोट लाउने ठाउँ भेटिँदैन । आफ्नो समाजको थिति, गरिबी र बालक छोराको विद्रोहको बीचमा परेको पात्रमा दयाहाङ राईले धेरैपछि उत्कृट अभिनय गरेको भान हुन्छ ।
अलि पहिले नेपाली चलचित्रका ‘क्रेडिट टाइटल’मा ‘हास्य कलाकार’ भनेर छुट्टै नाम दिइन्थ्यो । हास्य कलाकारको स्थानबाट ‘कलाकार’ सम्मको स्थानमा आउन जितु नेपाल पछिल्ला दुई चलचित्र ज्वाइँसाब र कार्साङ्मा सफल नै भएको मान्नुपर्छ ।