राजेन्द्र थापाले लेखेको यो गीतमा भनिएजस्तै अध्यक्ष पुष्पकमल दाहाल र उहाँको दल माओवादी केन्द्र भिरमा उभिएर रुनु न हाँस्नुको अवस्थामा छ ।
निर्वाचनमा आएको परिणामका आधारमा हामीलाई जनताले किन रुचाइरहेका छैनन् भन्ने विश्लेषण गर्न छाडेर जादुयी नम्बर छ, कसैले केही गर्न सक्दैनन् भनेर दम्भमा रमाउन थालेकै कारण अहिले नेकपा माओवादी केन्द्र अप्ठ्यारोमा परेको छ । ऊ न मतदाताको विश्वासमा खरो उत्रन सक्यो न देशका अन्य राजनीतिक शक्तिहरुकै लागि विश्वासिलो सावित भयो । सत्ताको झिरमा ऊ यसरी उनियो कि एमाले र कांग्रेसले दुईतिरबाट झिर उखेलेपछि माओवादी विक्षिप्त भएको छ । लगातार ९ वर्षसम्म सरकारमा बसेपछि अहिले प्रतिपक्षीमा पुगेको नेकपा माओवादी केन्द्रको आगामी भविष्य हाललाई अन्धकारमय नै छ, भिरमा उभिएजस्तै । कांग्रेस र एमालेको काँधमा पालैपालो चढेर हिँडिरहेको माओवादी अन्ततः दुवैले साथ छाडेपछि हलचल गर्न नसक्ने गरी भुँइमा थेचारिएको छ, अध्यक्ष दाहालको आँखाबाट आँसु झरोस् वा नझरोस्, त्यो अर्कै कुरा ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मुख्य भूमिका खेलेको, समानुपातिक समावेशी प्रणाली, धर्मनिरपेक्षता लगायत नयाँ संविधानमार्फत प्राप्त परिवर्तनको जस एकलौटी लिन खोजिरहेको माओवादी सत्तामा रहुन्जेलको आफ्नै व्यवहारकै कारण सबैको विश्वास गुमाउने अवस्थामा आइपुगेको हो । यस्तो अप्ठ्यारोमा परेको माओवादी केन्द्रले भावी रणनीति बनाउन स्थायी समितिको बैठकमा छलफल गर्न थालेको छ । तर, उसको अगाडिको यात्रा भने चुनौतीपूर्ण र कठिन छ ।
शान्ति प्रक्रियाको १८ वर्षसम्म पनि संक्रमणकालीन न्यायको काम टुंगो लगाउन माओवादी गम्भीर भएर नलाग्दा यो मुद्दा र सशस्त्र विद्रोहबाट प्राप्त उपलब्धि पनि उसका लागि प्रत्युत्पादक भइरहेका छन् । एक त प्रतिपक्षीमा पुग्नुपरेको छ भने अर्कोतर्फ जनमत पनि कमजोर छ । त्यसमाथि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायको विश्वास माओवादीले गुमाउँदै गएको छ ।
लामो समयसम्म सरकारमा बसेर पनि आफूले पहिले गरेका प्रतिबद्धता पूरा गर्न नसकेको तथा जनचाहनाअनुसार काम गर्न नसकेको आरोप माओवादीले खेप्नुपरेको छ । यही कारण सशस्त्र विद्रोहमा उसकै पक्षमा लागेकाहरुले पनि ऊमाथि प्रश्न उठाइरहेका छन् भने अर्कोतर्फ विद्रोहमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारले पनि शान्ति प्रक्रियापछि देशको अवस्था राम्रो नहुँदा उसैमाथि प्रश्न उठाइरहेका छन् । किनकि उनीहरुले न न्याय पाए न जीवनस्तर नै सुध्रियो । यसलाई अन्य दलले ऊविरुद्धको हतियारका रुपमा प्रयोग गरिरहे तर माओवादी भने तिनै दलको साथमा पार्टीको भविष्य देखेर सत्तामा रमाइरह्यो । तर, अहिले रातभरि वनभोजमा मोज गरेको सपना देखेर भोकै ब्युँझिएको स्थितिमा माओवादी पुगेको छ ।
भन्नलाई त अहिले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०८४ सम्म प्रधानमन्त्री नहुने उद्घोष गरिरहनुभएको छ । माओवादीकै नेता कार्यकर्ताले यो घोषणा कति पत्याउलान् ? अर्कोतर्फ उहाँलाई अन्य दलहरुले विश्वास गर्छन् र ? भन्ने प्रश्न पनि छ । उहाँले अहिले पनि गरिरहेको गल्ती के हो भने यी प्रश्नको जवाफ खोज्न जाँगर नदेखाउनु । पार्टी सुप्रिमोका रुपमा आफ्नो भूमिका, पार्टीको अवस्था, कार्यकर्ताको चाहनाजस्ता विषयमा गम्भीर समीक्षा गर्नुको साटो उहाँ २०८४ मा पहिलो पार्टी भएमा प्रधानमन्त्री बन्छु भन्ने दिवास्वप्न कार्यकर्तामा बाँडिरहनुभएको छ । फेरि अर्को कुन उथलपुथलको दिवास्वप्न हो ? कार्यकर्ता पंक्तिमा शंसय छ ।
अहिले उहाँले प्रतिपक्षमा बसेर जनताको मुद्दा उठान गर्ने र पार्टी सुदृढ गरेर निर्वाचनको तयारी गर्ने हो । तर, उहाँको ध्यान अहिले पनि यसतर्फ छैन । उहाँ त प्रधानमन्त्री बन्ने र नबन्ने आफ्नै भ्रम कार्यकर्तालाई देखाइरहनुभएको छ । सरकार निर्माण गर्ने र प्रधानमन्त्री बन्ने सपना त्यतिबेला पूरा हुन्छ जतिबेला पार्टीले मतदाताको मन जित्नेछ र त्यो मतपेटिकामा प्रकट हुन्छ । तर, यति कुरा बुझ्न उहाँलाई गाह्रो भइरहेको छ वा बुझेर पनि नबुझेझैं गरिरहनुभएको छ ।
माओवादीले कहिले एकल रुपमा शक्ति आर्जन गरेर चुनावमा जाने उद्घोष गर्ने, कहिले समाजवादी मोर्चालाई बलियो बनाएर सरकारविरुद्ध मोर्चाबन्दी गर्ने भन्दै आएको छ । यसले पनि माओवादी केन्द्रको आगामी दिशा अस्पष्ट देखिन्छ । पार्टीका अधिकांश नेता पार्टीलाई जनतासँग जोड्ने योजना बनाउनुपर्ने पक्षमा छन् तर अध्यक्ष दाहाल अझै सरकारको खेलमै लाग्ने कि भन्ने दोधारमा देखिनुहुन्छ । कार्यकर्ताको चाहना एकातिर तर नेतृत्वको अर्कोतिर हुँदा नै माओवादी अलमलमा परेको देखिन्छ ।
१० वर्षे सशस्त्र युद्ध, जनआन्दोलन, मधेश विद्रोह, जनजाति, महिला, मुस्लिम, दलितलगायतको आन्दोलन, सीमान्तकृत वर्ग, समुदायका सवाल र नयाँ पुस्तालाई माओवादीले चटक्कै बिर्सिएको आरोप जनस्तरबाटै लगातार लागिरह्यो । सत्तामा हुँदा यी सबै कुरा बिर्सने माओवादीले अहिले सत्ताबाट सडकमा पुगेपछि तिनै कुरा गर्न थालेको छ । ऊ सरकारले ल्याउने भनेको संविधान संशोधनको एजेण्डामा समेत प्रतिगमन देखिरहेको छ । तर, अब धेरै ढिला भइसकेको छ । सत्तामा हुँदाको उसकै व्यवहारमा विश्वास गर्ने आधार गुम्दै गएका छन् । माओवादी नेतृत्वको सरकार जनताले देखिसकेका छन्, भोगिसकेका छन् । सडकमा पुगेपछि मात्र जनताको मुद्दा बोल्ने अन्यथा कार्यकर्ताबाटै टाढा हुने नेतृत्वका कारण माओवादीलाई अप्ठयारोमा पारेको हो ।
सरसर्ती हेर्दा माओवादी केन्द्र अहिले अप्ठ्यारो भीरको बीचमा पुगेको छ । अगाडि जाउँ अझ अप्ठ्यारो छ । पछाडि हटौं समाउने ठाउँ छैन । संसद्मा केही साना दलको साथ पाएको देखिए पनि त्यो कतिञ्जेल भन्ने निश्चित छैन । किनकि माओवादीले आफ्नो अवसरका लागि जोसुकैलाई पनि प्रयोग गर्न सक्छ, जोसुकैलाई धोका दिन सक्छ भन्ने पुष्टि भइसकेको छ ।
हुन त राजनीतिक दलहरु सधैं जनताकै माझमा हुन्छन् भनिन्छ । तर कुन दल वर्षमा कति-कति पटक जनतासम्म पुगे भन्ने रेकर्ड सायदै कसैले राखेका छन् । झन् सत्ताको खेलमा लागेपछि त जनतालाई भुल्ने चलन नेपालका दलहरुका लागि नयाँ होइन । माओवादी केन्द्र पनि यसबाट अलग हुन सकेन । २०७९ सालको चुनावपछि सायदै माओवादी केन्द्रका नेताहरुले पालिकासम्म पुगेर जनताका मुद्दा सुनेका छन् । किनकि उनीहरु सधैं नै कहिले संघीय सरकार त कहिले प्रदेश सरकार बनाउन र भत्काउनमै केन्द्रित भइरहे ।
अहिले माओवादी केन्द्रलाई विगतमा भएका गल्तीबाट शिक्षा लिने, समीक्षा गर्ने र परिवर्तन गर्ने अवसर आएको छ । त्यसका लागि माओवादी केन्द्रले नीतिगत परिवर्तन गर्नुपर्छ । जनताको जीवनस्तर माथि उकास्ने केही योजनाहरु बनाउनुपर्छ । नीति बनाउँदा आफ्ना कार्यकर्ताको मात्र नभएर आमनागरिकको पक्षमा हुनेगरी बनाउनुपर्छ । त्यसो भए मात्रै माओवादीले सदाबहार तेस्रो दल भनेर जुन भाष्य निर्माण गरेको छ, यसलाई तोड्न सक्छ ।
२०६४ सालको पहिलो संविधानसभा चुनावमा माओवादी ठूलो र पहिलो दल मात्र भएको थिएन, प्रत्यक्ष निर्वाचनमा बहुमतसमेत हासिल गरेको थियो । इतिहास साक्षी छ, हिजो माओवादीले २९ दशमलव ८ प्रतिशत मत प्राप्त गर्दा कांग्रेसले २१ दशमलव १४ र एमालेले २० दशमलव ३३ प्रतिशत मात्र मत पाएका थिए । त्यो बेला कांग्रेस र एमाले माओवादीभन्दा निक्कै साना, दोस्रो र तेस्रो दल थिए । तर, माओवादीले जनमतलाई आफ्नो पक्षमा राखिराख्न सकेन । उसले न आफ्ना समर्थक जोगाउन सक्यो न त मतदाता नै । बारम्बार अवसर पाए पनि जनअपेक्षा अनुसार माओवादी नेतृत्वले काम गर्न सकेन ।
अब माओवादीले आफूलाई राजनीतिको मूलधारमा स्थापित गर्न र देशको नेतृत्व लिन केही वर्ष जनताको सेवा गरेर विश्वास जित्नुपर्नेछ । सत्ताविमुख भएपछि अध्यक्ष दाहाल भन्दै हुनुहुन्छ, 'एकपटक फेरि गाउँ जान्छु ।' दाहालको यो गाउँ यात्रा पार्टीमा आफ्नै नेतृत्व जोगाइराख्ने प्रयत्नका रुपमा मात्रै हुन्छ वा साँच्चै जनताको मन छाम्ने अभियान हुनेछ, त्यसले पनि दाहाल र उहाँको पार्टीको भविष्यको दिशानिर्देश हुनेछ । शंका त दाहालले गाउँ घुम्दा विलासिताको कोट पाइन्ट छोड्न सक्नुहुन्छ कि हुन्न भन्ने पनि छ ।
अर्कोतर्फ अब शब्दजालले मात्र एक समयका छविलाल र उहाँको पार्टीको क्रान्तिकारिताको छवि बच्नेवाला छैन । दाहाल आफूले मात्रै काम गरेर पुग्ने छैन, सत्ताको चास्नीमा चुर्लुम्म भएर कमाउ धन्दावाल भइसकेको पार्टी पंक्तिले समेत ठेला उठ्ने गरी परिश्रम गर्नुपर्नेछ । नेतृत्वमा आउन सक्ने आधार बनाउन पनि माओवादीले वडा तहसम्मै पुगेर संगठन सुदृढ पार्नुपर्छ । आफ्ना विगतका कार्यकर्तालाई एकजुट बनाएर २०६४ सालमा मत दिएकाहरुलाई संगठित गर्ने अभियानमा लाग्यो भने मात्र माओवादी केन्द्र आगामी चुनावमा थोरै भए पनि अस्तित्व रक्षाको अवस्थामा पुग्ला, अन्यथा इतिहासका पानामा मात्र सीमित नहोला भन्न सकिँदैन । त्यसपछि भने अध्यक्ष पुष्पकमल दाहालका आँखाबाट आँसु झर्नु वा नझर्नुले कुनै अर्थ राख्ने छैन ।