पाल्पाबाट १४ हजार ५ सय ६० किलो अदुवा युरोप निकासी

असार २, २०८२ |माधव अर्याल
पाल्पाबाट १४ हजार ५ सय ६० किलो अदुवा युरोप निकासी

पाल्पा। निस्दी गाउँपालिका–५, गल्धाका किसानले उत्पादन गरेको २३ हजार २ सय ५० किलो काँचो तथा सुकाएको चाना अदुवा यसवर्ष युरोप निकासी भएको छ । १४ हजार ५ सय ६० किलो सुकाएको चाना अदुवा गल्धाबाट युरोपका लागि निकासी गरेको हो । यो काँचो अदुवा झण्डै ६५ हजार किलो हुन्छ ।

यसबाट सहकारीलाई ७१ लाख ९१ हजार १ सय ८४ रुपैयाँ आम्दानी भएको छ । यसअघि यसै वर्ष अर्गानिक प्रमाणित भएको काँचो अदुवा ८ हजार ६ सय ९० केजी युरोप निकासी भएको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिलमाया सारुले जानकारी गराइन् । यसबाट ८ लाख १९ हजार ४ सय ६७ रुपैयाँ सहकारीले आम्दानी गरेको छ । सहकारीले तीन वर्ष अघिदेखि अदुवाको सुकेका चाना निकासी गर्दै आएको छ । 

यसवर्ष अर्गानिक प्रमाणित भएको काँचो अदुवासमेत निकासी गरेको सहकारीकी अध्यक्ष अममाया मश्राङ्गीले बताइन् । २० हजार केजी काँचो अदुवाको माग भए पनि माग अनुसार उत्पादन हुन नसकेपछि थोरै मात्र निकासी गरेको हो ।सुकेको चाना अदुवाको पनि १० हजार किलो माग थियो । 

सहकारी अन्तर्गतका २ सय ७२ जना किसानसंग अर्गानिक प्रमाणित गरेर अदुवा खरिद गरी विदेश निकासी गर्दै आएका छन् । सदरमुकाम तानसेदेखि ६५ किलोमिटर टाढा पर्ने यस गाउँको अदुवा अकिस्टा नेपालले नसे जातको अदुवाको १० हजार केजी सुकाएको चाना माग गरेको थियो । काँचो अदुवा ६० देखि ६५ हजार केजी हो । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।