
काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकामा रहेको श्री शिवालय आधारभूत विद्यालय अहिले पढ्ने होइन, आश्रय लिने थलो भएको छ ।
अभिभावक गुमाएकादेखि सन्तान गुमाएकासम्मले अहिले यही ठाउँलाई आफ्नो ठेगाना मानेका छन् । किनकि धेरैलाई अब फर्केर थातथलो जान मन नै लाग्दैन । आफ्नो घर जान मन नलाग्नु भनेको त्रासदीको कस्तो चित्र हो, यो अनुमान गर्न पनि गाह्रो छ ।
बाढीले परिवार गुमाएका, घर उजाडिएका र त्रासले ज्यान जोगाउन चाहेकाहरू- प्रायः सबैले सुरक्षित ठानेको थलो यही हो ।
हामी यहाँ पुग्दा कलिला नानीबाबु भेट्यौँ । जसलाई परिवार गुमाएको त थाहा छ तर के कारण यत्रो विध्वंश गर्ने बाढी आयो- कुनै हेक्कै छैन ।
हामीले वृद्ध भइसकेका अनुहार पनि देख्यौँ- जसलाई अब फर्केर आफ्नो थातथलो जान मन नै लाग्दैन । आफ्नो घर जान मन नलाग्नु भनेको त्रासदीको कस्तो चित्र हो, यो अनुमान गर्न पनि गाह्रो छ ।
यहाँ कसैले काख गुमाएका छन्, कसैले कोख । क्षणभरमै कसैका सन्तानबाट ‘टुहुरो’ बनेका छन् कोही । भोटेकोशीको त्यो भयानक बाढीले टुहुरो बनाएको यी उत्तरगया गाउँपालिकास्थित तिरु गाउँकी बालिका पनि हुन् । उनी कक्षा ३ मा पढ्थिन् ।
पढ्थिन् किन पनि भन्यौँ भने- उनले बुवाआमा गुमाइन्, दाइदिदी गुमाइन् अनि गुमाइन् उनलाई साह्रै माया गर्ने हजुरबुवा । अब उनलाई पढाउने लेखाउने कोही बाँकी छैन । धन्न सानिआमाको काख पाएकी छन् । उनै सानिआमालाई बेला बेला सोध्छिन्- बुवाआमा, दाइदिदी फर्केर आउँछन् कि आउँदैनन् ?
कसैले अभिभावक गुमाउँदा रसुवा खाल्टेकी विमला घलेले भने आफ्ना सन्तान गुमाएकी छन् । छोरा, बुहारी गरेर ७ जनाको परिवार क्षणभरमै कहाँ पुगे कहाँ । गुमाएका कुरा झल्झल्ती याद आउने भएर नै उनलाई अब फर्केर फेरि त्यो ठाउँ जान पनि मन छैन । तर, परिवारको अन्तिम संस्कार भने गरिदिन मन छ ।
त्यसैले बेंसीसम्म झर्न त खोज्छिन् तर हिलैहिलोले जान सके पो ! श्रीमाया तामाङको बुवालाई पनि बाढीले बगायो । साथमा बालबच्चा छन् तर उनीहरूलाई राख्ने घर छैन । के खाएर बस्ने ? बालबच्चा कसरी पाल्ने ? जिउँदो हुनुको यिनै प्रश्नले उनलाई अचेल घोचिरहन्छ ।
यो स्कुलमा करिब डेढ सयले आश्रय लिइरहेका छन् । ५ दिनदेखि यहाँ बसिरहेका उनीहरूले राहत भने सजिलैसँग नपाएको गुनासो गरेका छन् । केहीलाई लगाउने कपडाको खाँचो छ । केहीलाई स्यानिटरी प्याडको ।
रसुवाबाट सहकर्मी विकास आचार्य र हेम प्रसाईँको रिपोर्टमा अञ्जना लामिछानेकाे प्रस्तुति ।