काठमाडौं । सुनसरीको देवानगन्जमा आइतबार भएको दुई समूहबीचको झडपपछि विषम परिस्थिति उत्पन्न भएको छ ।
धनुषा, सिरहा, सुनसरी र सप्तरीमा कर्फ्यु लगाइएको छ भने वीरगन्जमा निषेधाज्ञा जारी भएको छ । तनाव मत्थर पार्न राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, स्थानीय अगुवा साथै सुरक्षा निकाय सक्रियतापूर्वक संवाद र समन्वयमा लागिपरेको छ ।
विशेषगरी अहिले भइरहेको घटनामा सुरक्षा निकायको मूल्यांकन के छ त ?
अनि तनाव न्यूनीकरण र सद्भाव स्थापनाका लागि सुरक्षा निकायले के गरिरहेको छ त ?
अहिले केही जिल्लामा देखापरेको तनाव मत्थर पार्न अहिले सुरक्षा निकायले विभिन्न रणनीति अपनाएको छ । त्योमध्येको पहिलो रणनीति हो- उच्च अधिकारीहरूलाई फिल्डमा खटाउने ।
नेपाल प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन शुक्रबार ४ एआईजीसहित दुई दर्जनभन्दा बढी उच्च अधिकारीलाई कोशी र मधेश प्रदेशमा खटाएको छ । उनीहरूले त्यहाँको वस्तुस्थिति बुझेर केन्द्रमा रिपोर्ट पठाउने र त्यसैका आधारमा जनशक्ति खटाउने तयारी रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेको भनाइ छ ।
दोस्रो सुरक्षा रणनीति हो- दुई पक्षलाई भेट हुन नदिने । सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि तत्काल दुई पक्षलाई टाढै राख्ने गृह प्रशासनको तयारी छ । त्यसैगरी सरक्षा निकायले बनाएको अर्को रणनीति हो- सुरक्षा फोर्सको तैनाथी । तनाव देखिएका कोशी र मधेशबाहेकका प्रदेशमा पनि अहिले सुरक्षा फोर्सलाई सतर्क अवस्थामा राखिएको छ ।
अभर परेमा आवश्यक संख्यामा सुरक्षा फोर्सलाई तनाव देखिएका क्षेत्रमा पठाउने तयारी भइरहेको छ । तनाव न्यूनीकरणको अर्को रणनीति हो- मठमन्दिर तथा मस्जिदहरू रहेका क्षेत्रमा अतिरिक्त सुरक्षा सतर्कता । फिल्डमा खटिन नपर्ने सुरक्षा फोर्सलाई धार्मिक स्थलहरूमा खटाइएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
पाँचौँ सुरक्षा रणनीति हो- समन्वयको । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जनप्रतिनिधि, धर्मगुरु तथा सुरक्षा निकायले छलफल र समन्वय गरिरहेका छन् । साथै जनप्रतिनिधि र स्थानीय बासिन्दालाई गाउँ टोलमा नयाँ मान्छे आएमा सुरक्षा निकायलाई खबर गर्न पनि भनिएको छ ।
अर्को सुरक्षा रणनीतिअनुसार सीमा नाकाबाट घुसपैठ हुनसक्ने परिस्थितिको जोखिम आकलन गर्दै त्यहाँ पनि सतर्कता अपनाइएको छ । सबै सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृहसचिवको संयोजकत्वमा प्रहरी महानिरीक्षकसहितको कमान्ड फोर्सले एकीकृत सूचनासमेत संकलन गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।
साथै गृहमन्त्री सुधन गुरुङ बिहीबारबाटै तनाव देखिएका जिल्ला जिल्ला पुगेर समन्वयको काम गरिरहनुभएको छ ।