बालेन सरकारको किन आलोचना गरिरहेका छन् भारतीय मिडिया ?

असार ३२, २०८३ |किरण पौडेल
बालेन सरकारको किन आलोचना गरिरहेका छन् भारतीय मिडिया ?

काठमाडौं । केही दिनयता भारतीय सञ्चारमाध्यममा नेपालको सरकारप्रति आलोचनाप्रधान सामग्रीहरू प्रकाशित भइरहेका छन् । धेरैजसो भारतीय मिडियाले सुकुम्वासीप्रति भएको ज्यादती, प्रश्न गर्ने मिडियाका गेटमा सरकारी संरक्षणमा गाडी लगेर अवरोध गरिएको, राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको लगायतका विषय उठाएका छन् । यसको अर्थ के हो त ?

'बालेन शाहविरुद्ध उनकै पार्टीका सांसदहरूमा किन बढ्दै छ असन्तुष्टि ?' यो शीर्षक बीबीसी हिन्दीमा प्रकाशित एक समाचारको हो । बीबीसीले गत बुधबार कान्तिपुर दैनिकमा प्रकाशित 'रास्वपा सांसदले नै गर्न थाले सरकारको आलोचना' शीर्षकको समाचारलाई उद्धृत गर्दै चार महिना पनि पूरा नहुँदै प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर प्रश्न उठेको लेखेको छ ।

तर नेपालका प्रधानमन्त्रीप्रति प्रश्न चिह्न तेर्स्याउँदै समाचार लेख्ने बीबीसी हिन्दी एक्लो भारतीय मिडिया भने होइन ।

आज तकले पनि आफ्नो डिजिटल संस्करणमा 'कालो चस्मा फुकाल्नुस् भन्दै ‘नेपालमा जेन-जीको प्रदर्शन, प्रम बालेन शाहको राजीनामा माग' शीर्षकमा समाचार प्रकाशन गरेको छ । आज तकले लेखेको छ,'नेपालमा एक राइड सेयर चालकको मृत्युले केवल कानुनी व्यवस्था मात्र होइन, सरकारकै कार्यशैलीमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ ।’

बीबीसी र आज तक दुवैले सरकारको कार्यशैलीमा प्रश्न गरेका छन् ।

यता एनडीटीभी अंग्रेजीले 'बालेनबाट जेन-जीलाई धोका' भन्दै पछिल्ला प्रदर्शनका बारेमा समाचार प्रसारण गरेको छ । इन्डिया टुडे टेलिभिजनले 'जेन-जी आइकन नै जेन-जीको एंगर' मा परिणत भइरहेका त छैनन् भनेर भिडियो सामग्री प्रसारण गरेको छ ।

इन्डियन एक्सप्रेस, लल्लनटप, फर्स्टपोस्टलगायत मिडियाले पनि गणेश नेपालीको आत्मदाहको घटनालाई जोडेर सरकारविरुद्ध बढेको आक्रोशलाई समाचार बनाएका छन् ।

सरकार नजोडेरै पनि नेपालमा भएका विरोध प्रदर्शनलाई उनीहरूले प्राथमिकताका साथ समाचार बनाएका छन् । जस्तो, टाइम्स नाउले किसानहरूले माइतीघर मण्डलमा टमाटर फालेर गरेको विरोध प्रदर्शनलाई कभर गरेको छ ।

भारतीय मिडियामा एकसाथ नेपालको सरकारप्रति आलोचनात्मक भाष्य कसरी आयो ?

तर भारतीय मिडियाको कभरेज सधैँ यस्तो भने होइन । अहिले आलोचनात्मक भाष्य लेखिरहेको इन्डिया टुडेले नै फागुन २१ को निर्वाचनको मतगणना भइरहँदा बालेनको विजयले नेपाली राजनीतिमै महत्त्वपूर्ण परिवर्तन ल्याउनसक्ने उल्लेख गरेको थियो । आज तकले त बालेनको सपथ समारोहलाई राजतिलककै संज्ञा दिएको थियो ।

त्यसैले पनि भारतीय मिडियाका यी कभरेजहरूलाई संवेदनशील भएर हेर्नुपर्ने भूराजनितिक विश्लेषक चन्द्रदेव भट्ट बताउनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो सरकारविरुद्ध अहिले आफ्नै दलका नेता कार्यकर्ताले फरक मत राख्न थालेका छन् । जेन-जी आन्दोलनको स्वामित्व लिएको दलको सरकारलाई अहिले जेन-जी अभियन्ताहरूले नै आलोचना गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरूले पनि यी विषयलाई नै उठाएका हुन् ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।