
दाङ । समयमै पानी परेको भए यतिबेला रोपाइँ सकिसकेको हुन्थ्यो ।
दाङमा ३६ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र दाङको तथ्याङ्कअनुसार साउन २२ गतेसम्म ३४ हजार २ सय हेक्टर अर्थात् ९५ दशमलब शून्य ३ प्रतिशतमा धान रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्रले यसो भने पनि किसानका धेरै खेत अहिलेसम्म बाँझै छन् । आकाशबाट पानी नपरेको र सिँचाइको लागि कुलाको व्यवस्था नभएका कारण दाङमा सयौँ बिघा जमिनमा धानखेती हुन सकेको छैन भने रोपाइँका लागि राखेको ब्याड पनि सुक्न थालेको छ ।
यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन । पर्याप्त वर्षा हुँदा दाङ जिल्लामा असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाइँ सकिन्थ्यो । यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाइँ सकिएको छैन । कृषि ज्ञान केन्द्र दाङको तथ्याङक अनुसार दाङ जिल्लामा साउन २२ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएको छ।
कृषि ज्ञान केन्द्रले यसो भनिरहँदा किसानका खेतबारीमा पुग्दा ज्ञान केन्द्रको तथ्याङ्कले मेल खाँदैन । सिँचाइ सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन् । रोपाइँका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ । कतिपय किसान पिउने पानिका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक एक दुई गरा रोपाइँ गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन् ।
समयमै वर्षात् होला र रोपाइँ गरौला भनि बसेका किसान पर्याप्त वर्षात नभएको र सिँचाइ सुविधा पनि नभएका कारण यतिबेला निराश जस्तै बनेका छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरुमा सरकारले रासायनिक मल र सिँचाइको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ किसान टेकबहादुर खड्का।
जलवायुमा आएको परिवर्तनका कारण बर्षेनि पानीको मात्रा घट्दै गएको छ भने आवस्यक नपर्ने समयमा अतिवृष्टी अनावृष्टी, अल्प वृष्टी जस्ता समस्या नागरिकहरुले भोग्नु परिरहेको छ। किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन नै त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण किसान अझै निराश छन्।