सुस्ता जोगाउन स्थानीयको जनश्रमदान, नारायणीको कटान रोक्न रातदिन बाँध बाँध्दै

श्रावण २५, २०८३ |नवीन पौडेल
सुस्ता जोगाउन स्थानीयको जनश्रमदान, नारायणीको कटान रोक्न रातदिन बाँध बाँध्दै

नवलपरासी । भारतीय सीमा सुरक्षा बल- एसएसबीले समय समयमा दिने दुःखबाट त पश्चिम नवलपरासीको सुस्ताका बासिन्दा पीडित नै थिए । 

त्यसमाथि नारायणीको कटानको विपत् पनि थपिएको छ । नारायणीको तीव्र कटानले बस्ती नै विस्थापित हुनुपर्ने पिरलोका कारण अहिले उनीहरु बाँध बाँध्न रातदिन काम गरिरहेका छन् । सुस्ताबासीको यो दुःख सरकारले बल्ल देखेको छ ।

नारायणी बढेर खेतीयोग्य जमिन कटान गर्ने र बस्तीमा बाढी पस्न थालेपछि पश्चिम नवलपरासीको सुस्ताका बासिन्दा तटबन्धन गर्न आफैं कस्सिएका छन् । यसअघिका वर्षमा पनि उनीहरुले यसैगरी बस्ती जोगाएका थिए । स्थानीयले रातदिन बस्ती जोगाउन गरेको प्रयास देखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।

अघिल्लो आर्थिक वर्ष सरकारले बजेट त विनियोजन गर्‍यो, तर, भारतले काम गर्न नदिएपछि वर्षामा ढुक्क भएर बस्न सक्ने अवस्था भएन् । सुस्तामा करिब १५ करोडको लागतमा १ किलोमिटर क्षेत्रमा तटबन्धको काम असार अगाडि नै पूरा भएको थियो । 

१ सय ३२ मिटर क्षेत्रमा गर्नुपर्ने तटबन्ध भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि काम हुन सकेन । अहिले सोही क्षेत्रबाट नारायणी बस्तीमा पस्ने जोखिम बढेको छ । बस्ती डुबानमा पर्ने भएपछि स्थानीय गत बुधबारदेखि आफैँले बोरामा माटो राखेर अस्थायी बाँध बाध्ने काममा जुटेका छन् । 

रातदिन स्थानीय खटेको देखेपछि स्थानीय, प्रदेश र केन्द्र सरकार बल्ल तातेका छन् । स्थानीयले जनश्रमदान गर्दै बस्ती जोगाउन माटो, ढुंगा, ढलेका रुख र स्थानीयरुपमा उपलब्ध सामग्री प्रयोग गरेर काम गरिरहेका छन् । तर, यो प्रयासले मात्र सुस्तामा कटान र डुबानको समस्या समाधान हुने अवस्था छैन । 

स्थानीयको माग छ– सरकारले भारतसँग कूटनीतिक पहलमार्फत नारायणी नदीमा व्यवस्थित तटबन्ध गर्नेतर्फ पहल गरोस् ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।