
धनुषा । मिथिला क्षेत्रका नवविवाहित महिला यतिखेर मधुश्रावणी पर्वको रमझममा छन् ।
दाम्पत्य जीवन आत्मीय बन्ने विश्वाससहित नवविवाहित महिलाहरूले यो पर्व मनाउँछन् । यसलाई मिथिला संस्कृतिको विशिष्ट पर्व मानिन्छ । भारत बिहारको सितामढीकी सुनिधी चौधरीको विवाह गत वर्षको माघमा जनकपुरधामका आदित्य चौधरीसँग भयो ।
कोलकाता बसेर विज्ञानमा उच्च शिक्षा हासिल गरेकी सुनिधी आधुनिकमा रमाए पनि मैथिली परम्परा, कला, संस्कृति र संस्कारको सम्मान गर्नुहुन्छ । रश्मी झा पनि मधुश्रावणी मनाउन यतिखेर आफ्ना जन्मथलो आइपुग्नुभएको छ । बाल्यकालदेखि वीरगञ्ज बसेर एमबीएसम्म अध्ययन गरेकी रश्मीको विवाह गत जेठमा महोत्तरीमा भएको थियो । उहाँ विवाहपछिको पहिलो मधुश्रावणी मनाउन उत्सुक हुनुहुन्छ ।
सुखद् दाम्पत्य जीवनको कामना गर्दै मिथिला नगरी जनकपुरधाम र आसपास क्षेत्रका नवविवाहित महिला यति बेला मधुश्रावणी पर्वमा रमेका छन् । मधुश्रावणीका व्रतालुहरुले लोक भाकामा सुरिलो गीत गाउँदै प्रत्येक साँझ मठ मन्दिरमा पुगि टिपेको फुलपातीलाई डालीमा सजाउने गर्दछन् ।
मिथिला क्षेत्रको चर्चित पर्वमध्ये एक मधुश्र साउन कृष्ण पञ्चमीदेखि शुक्ल पक्षको तृतियासम्म मनाउने गरिन्छ । पर्वका अवसरमा सखिबहिनपा मिथिलानी समूहले जनकपुरधामको जानकी मन्दिरमा केही वर्षदेखि नवविवाहित महिलाहरूलाई समूहगतरूपमा सम्मान गर्दै आएको छ ।
मधुश्रावणी पर्वले विवाहपछि कसरी दाम्पत्य जीवनलाई सुखमय बनाउने तथा विपद् आइलागे सामना गर्न प्रेरणा दिने विश्वास गरिन्छ । यो पर्वमा हरेक दिन पूजा सकिएपछि मंगलागौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन र गौरी-शंकर विवाहसँग जोडिएका धार्मिक कथा वाचन तथा श्रवण गरिन्छ ।