
ताप्लेजुङ । हरेक संरचना निश्चित उद्देश्य र उपयोगिताका लागि बनाइएको हुन्छ ।
ताप्लेजुङमा भने ज्येष्ठ नागरिकको स्याहार, सुसार तथा रेखदेखका लागि बनाउन थालिएको जेष्ठ नागरिक आश्रम सुरु भएको डेढ दशकसम्म पनि सकिएको छैन ।
निर्माण सुरु हुँदाका कतिपय संरचना मर्मत गर्नुपर्ने अवस्था भइसक्दा पनि किन पूरा भएन त यो केन्द्र ?
स्थानीय तुलसी, आनन्द, मदन तथा उहाँहरुका परिवार केशव, सुजन दाहाल परिवारले बृद्धाश्रम निर्माणका लागि १२ रोपनी जमिन दिएको डेढ दशक भयो । फुङलिङ नगरउन्मुखका तत्कालीन नगर प्रमुख प्रजापति काफ्लेको सक्रिय समन्वयमा जग्गा लिएपछि भवन निर्माणको काम प्रारम्भ भयो ।
काफ्ले पनि २०७८ सालमा दिवंगत बन्नु भयो । ट्रष्टसहित तीन तलाको भवनका कतिपय कोठा बस्न योग्य छन्। तर, अहिलेसम्म सञ्चालनमा भने आएको छैन । एकजना रुँगालोका भरमा छोडिएको भवनका चारवटा कोठा बस्न योग्य भए पनि चासो राखेर आउने जेष्ठ नागरिक अहिलेसम्म नभएको समितिको दाबी छ ।
मान्छे आए सञ्चालन र निर्माणको पूर्णता सँगसँगै गर्ने मनस्थितिमा समिति रहेको छ । भवनले पूर्णता पाउँदा र इच्छुक जेष्ठ नागरिक हुँदा ३० जनासम्म अट्ने क्षमता रहेको छ। तर, यसै बनिएर भत्कन्छ यात जेष्ठ नागरिक पनि हुन्छन् त्यो भनें चासोको विषय बनेको छ।