उपकुलपतिसहितका पदाधिकारी नियुक्तिमा सरकारको ढिलाइ, पाँच विश्वविद्यालय नेतृत्वविहीन

श्रावण २५, २०८३ |नारायण किलम्बू
उपकुलपतिसहितका पदाधिकारी नियुक्तिमा सरकारको ढिलाइ, पाँच विश्वविद्यालय नेतृत्वविहीन

काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश जारी भएसँगै १४ वटा विश्वविद्यालयमा उपकुलपतिसहितका पदाधिकारी रिक्त भए । 

तर, तीन महिना बितिसक्दा पनि अझै पाँचवटा विश्वविद्यालयमा नियुक्ति प्रक्रिया अगाडि बढेको छैन । लुम्बिनी विश्वविद्यालयमा त तीन जनाको सिफारिस भइसकेर पनि नियुक्ति रोकिएको छ । नियुक्ति ढिलाइले नयाँ उच्चशिक्षा सम्बन्धी नीति तथा कार्यक्रमदेखि बजेटसम्म प्रभावित भएका छन् । 

किन भइरहेको छ नियुक्तिमा ढिलाइ ?

शिक्षा मन्त्रालयले गत वैशाख २५ गते लुम्बिनी बौद्धसहितका आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गर्यो । जसअनुसार ३-३ जनाको सर्ट लिस्ट तयार पारेर कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीसमेतलाई बुझाइयो ।

सोही सूचीअनुसार नै असार १९ गते त्रिभुवन विश्वविदालयसहित सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरियो। तर, तीन महिना बितिसक्दा पनि लुम्बिनीमा नियुक्ति हुन सकेको छैन । बौद्ध शिक्षा अध्यापन अनुसन्धान हुने विश्वविद्यालयमा आंगिक र सम्बन्धनप्राप्त गरी चार हजार विद्यार्थी अध्ययनरत छन् । तर, नेतृत्वमा नियुक्तिको ढिलाइले अनेक आशंका उत्पन भएको पूर्वउपकुलपतिहरुको भनाइ छ ।

शिक्षामन्त्री सस्मित पोखरेल र शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले भने विश्वविद्यालयहरुमा उपकुलपति नियुक्ति पारदर्शी भएको दाबी गरे । यद्यपि कतिपयमा ढिलाइ भएको उनीहरुको स्वीकारोक्ति छ । लुम्बिनी बौद्धमात्र होइन काठमाडौं, नेपाल खुला, मदन भण्डारी र विदुषी योगमाया विश्वविद्यालयमा पनि उपकुलपति नियुक्त हुन सकेको छैन । 

काठमाडौं विश्वविद्यालयमा भने उपकुलपति छनोट प्रक्रिया सुरु गरे पनि नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको छ । उपकुलपतिसहित पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा विश्वविद्यालयहरुको बजेटदेखि उच्चशिक्षासम्बन्धी नयाँ नीति तथा कार्यक्रमहरु नै प्रभावित भएका छन् । 

कार्यकारी तथा सिनेट बैठकसमेत हुन नसक्दा अन्योल सिर्जना हुने शिक्षाविद् बताउँछन् । सरकारले प्राज्ञिक थलो विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र भागबन्डामुक्त गर्ने घोषणा गरेको छ । उच्चशिक्षा अध्ययन अनुसन्धान गर्ने विश्वविद्यालयहरुको नेतृत्व उपकुलपति नियुक्तिमा पनि कुनै पनि बहानामा ढिलाइ गर्न नहुने विज्ञहरुसम्मको सुझाव छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।