१० वर्षदेखि अलपत्र रुपगा-पाथीहाल्ने सडकमा नयाँ ठेक्का लगाउने तयारी

श्रावण २५, २०८३ |महेश केसी
१० वर्षदेखि अलपत्र रुपगा-पाथीहाल्ने सडकमा नयाँ ठेक्का लगाउने तयारी

रुकुम पूर्व । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको रुपगादेखि पाथीहाल्ने खण्डअन्तर्गत १३ किलोमिटरमा कालोपत्रेका लागि १० वर्षपछि पुनः नयाँ ठेक्का लगाउने तयारी थालिएको छ । 

यसअघि निर्माण व्यवसायीले सम्झौताअनुसारको काम नसकेपछि साविकको ठेक्का तोडेर नयाँ ठेक्का लगाउन प्राविधिक जाँच-पासको काम भइरहेको छ । रुकुम पूर्व र बागलुङको सीमासँग जोडिएको यो खण्डमा २०७३ सालमा 'भारत-महादेव खिम्ती-सिद्धिशाही जेभी' ले कामको ठेक्का लिएको थियो । 

ठेकेदार कम्पनीले सुरुका दुई वर्ष केही काम गरे पनि त्यसपछि भने पटक पटक म्याद थपे पनि काम नगरेपछि ठेक्का तोडिएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखले जनाएको छ । यससँगै नयाँ ठेक्का लगाउन सर्भेको काम पनि भइरहेको छ । 

ठेक्का अन्त्य गरेर आवश्यक जनशक्ति र उपकरण परिचालन गरेर सवारी सञ्चालन सहज बनाउन नालाहरु खोल्ने, बाटो सरसफाइ गर्ने र खाल्डा पुर्ने काम तीव्ररुपमा अघि बढाइएको छ । लामो समयदेखि निर्माण अलपत्र हुँदा आवागमनमा सास्ती भएको भन्दै चाँडै निर्माण सम्पन्न गर्न स्थानीयको माग छ ।

विगतको ठेक्का तोड्नेदेखि नयाँ ठेक्का लगाउन सम्पूर्ण प्रक्रियामा स्थानीय प्रशासनको सहयोग रहेको भन्दै रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले अब प्रभावकारी ढंगले काम हुने विश्वास व्यक्त गर्नुभयो । कार्ययोजनाअनुसार काम भए साउनभित्र सर्भेलगायतका काम सक्ने र भदौ तेस्रो सातासम्म ठेक्का आह्वान गर्ने आयोजना कार्यालयको तयारी छ । 

यसपछि दशैंअघि ठेक्का सम्झौता गरेर तिहारलगत्तै निर्माण व्यवसायीले काम थाल्ने भन्दै इन्जिनियर खरालले चालु आर्थिक वर्षमा आधा काम सक्ने र बाँकी काम अगामी आर्थिक वर्षभित्र सकेर यो खण्डको निर्माण सम्पन्न गर्ने गरी नै आयोजना कार्यालयले अहिले काम गरिरहेको बताएका छन्।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।