रूस पुगेका नेपालीको अत्तोपत्तो छैन, परिवारको हारगुहार जारी

असार १६, २०८३ |कृपाल गौतम
रूस पुगेका नेपालीको अत्तोपत्तो छैन, परिवारको हारगुहार जारी

काठमाडौं । सन् २०२२ को फेब्रुअरीबाट सुरू भएको रूस-युक्रेन युद्ध अझै जारी छ । 

चार हजार किलोमिटर टाढा भइरहेको त्यो युद्धको बाछिटा नेपालसम्मै पर्यो र त्यसले दिएका घाउ अझै निको हुन सकेका छैनन् । रूसी सेनामा भर्ती भएका नेपालीमध्ये १ सय १८ जनाको मृत्यु भएको औपचारिक तथ्यांक छ भने १ सय ३२ जना बेपत्ता छन् । 

रूस-युक्रेन द्वन्द्वमा परेका आफन्तहरूको खोजी तथा उद्धारको याचना गर्दै नेपालमा रहेका परिवारले लामो समयदेखि सरकारी निकायमा हारगुहार गर्दै आएका छन् । तर, पनि अहिलेसम्म उपलब्धि केही हुन सकेको छैन ।

२०८० मंसिर । भक्तपुरको गठ्ठाघरमा डेरा गरी बस्दै आउनुभएका रमेश सेडाइँले निस्कने बेलामा परिवारलाई भन्नुभएको थियो– घुम्न भारत जान्छु । तर, उहाँ पुग्नुभयो रूस, जतिबेला रूस र युक्रेनबीचको युद्ध तीव्र भइरहेको थियो । परिवारसँग अन्तिम पटक २०८० पुसमा कुरा हुँदा उहाँले फर्कन सक्ने स्थिति नभएकाले उद्धार गरिदिन भन्नुभएको थियो । 

त्यसपछि कुरा हुन पाएन । अहिले त रमेशको अवस्था अज्ञात छ । बा-आमा, श्रीमती र दुई छोराछोरी उहाँ आउने आशामा पर्खिरहेका छन् । उनीहरूले राष्ट्रिय मानव अधिकार आयोगदेखि विभिन्न निकायमा खोजी र उद्धारका लागि पहल गर्न हारगुहार गर्दै आएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार गत फागुनसम्म रूसी सेनामा भर्ती भएकामध्ये १ सय १८ नेपालीले ज्यान गुमाइसकेका छन् । १ सय ३२ जना बेपत्ता र २ सय ९१ जना घाइते भएका छन् । परराष्ट्रको कन्सुलर विभागले मृत्यु प्रमाणित गर्न डीएनए नमुनाको संकलन गरी पठाउँदै आइरहेको छ । 

राष्ट्रिय मानव अधिकार आयोगका अनुसार अहिलेसम्म रूस-युक्रेन युद्धसँग सम्बन्धित ३३ वटा उजुरी आयोगमा मात्र दर्ता भएका छन्। सबै उजुरीको विस्तृत विवरण ६ महिनाअघि नै रूसको राष्ट्रिय मानव अधिकार संस्थामा प्रेषण गरिसकिएको पनि आयोगको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाले जनाएको छ । 

रूसी आयोगले ती विवरण त्यहाँको रक्षा मन्त्रालय र अन्य निकायहरूमा पठाएको जवाफ दिए पनि हालसम्म ठोस प्रगति हुन सकेको छैन। अहिले नेपाल सरकारले रूस र युक्रेनका लागि व्यक्तिगत श्रम स्वीकृति पूर्णरूपमा बन्द गरेको छ ।

दोस्रो मुलुक हुँदै जाने मार्ग रोक्न विदेश भ्रमणमा जानेहरूका लागि नो अब्जेक्सन सर्टिफिकेट- एनओसी अनिवार्य गरिएको छ। तर, युद्धग्रस्त क्षेत्रको जटिलताका कारण मृतकको शव फिर्ता ल्याउन, घाइतेहरूको विवरण संकलन गर्न र बेपत्ताको खोजी गर्न कूटनीतिक प्रयास सफल हुन सकेको छैन ।

अब सरकारले यसलाई नियमित प्रकियाभन्दा पनि विशेष मिसन बनाएर अघि बढाउनुपर्ने जानकार बताउँछन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।