
काठमाडौं । नयाँ संसद्मा अधिकांश सांसदहरु संसदीय अभ्यासमा नयाँ छन् ।
संसद् सञ्चालन भएको तीन महिना बित्दा पनि सांसदहरु अभ्यस्त हुन अझै बाँकी छ । कहिले नियमावलीमा अलमल भइरहेको हुन्छ भने कहिले बोल्ने क्रममा समेत त्रुटि भइरहेका हुन्छन् । सांसदहरुले समेतले सांसदहरुलाई तालिम आवश्यक रहेको पटक-पटक बताउँदै आएका छन् ।
तर, संघीय संसद् सचिवालयले संसदीय प्रक्रिया सिकाउन गरेको अभिमुखीकरणमै सांसदहरुको कम रुचि देखियो । सोहीकारण सभामुख डीपी अर्यालले समेत असन्तुष्टि जनाउनुभयो । नयाँ संसद् सुरु भएको तीन महिना भइसक्दा पनि संसदीय अभ्यासका बारेमा अधिकांश सांसदहरु अभ्यस्त हुन सकेका छैनन् ।
कहिले नियमावलीबारे अलमल भइरहेका छन् भने कहिले संसदीय मर्यादाविपरीतका अभिव्यक्ति र गतिविधि भइरहेका हुन्छन् । जसबारे सभामुखले समेत पटक-पटक चेतावनी र रुलिङ दिनुपरेको छ । यस्तोमा संसद् सचिवालयले अभिमुखीकरण आयोजना गरे पनि सांसदहरुकै रुचि कम देखियो ।
पहिलो दिन २ सय ५ सांसद्मात्र उपस्थित भए । सांसदहरुको कम उपस्थितिप्रति असन्तुष्ट हुनुभएका सभामुख डीपी अर्यालले सांसदहरुको मूल्यांकन जनताले गर्नेसमेत बताउनुभयो । सत्तारुढ रास्वपा सांसद पूर्वउपसभामुख इन्दिरा रानाले पनि अभिमुखीकरण कार्यक्रम सांसदहरुका लागि आवश्यक भन्दै सांसदहरु उपस्थित नभएकोमा असन्तुष्टि जनाउनुभयो ।
यता सत्तारुढ दलकै केही सांसदले भने अभिमुखीकरण कार्यक्रममाथि नै प्रश्न उठाए । सांसदहरुलाई अभिमुखीकरण दिन उपस्थित भएकाहरुलाई नै पहिले अभिमुखीकरण आवश्यक रहेको भन्दै रास्वपा सांसद सागर ढकालले प्रशिक्षककै योग्यतामाथि प्रश्न उठाउनुभयो ।
तर, केही सांसदलाई भने अभिमुखीकरण कार्यक्रममा जानकारीमूलक लाग्यो । सांसदहरुलाई संसदीय प्रक्रिया तथा सचिवालयले प्रवाह गर्ने सेवाहरुलाई लिएर सोमबार र मंगलबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरि बताउनुहुन्छ ।
अभिमुखीकरणमा संसद्का पूर्वमहासचिव, सचिवलगायत शाखा प्रमुखहरुले संसदीय प्रक्रिया र सचिवालयको सेवा प्रवाहलाई लिएर जानकारी गराएको सचिवालयले जनाएको छ । चैत्र १९ गते पहिलो बैठक बसेयता सभामुखले सांसदहरुको विरोधको विधिलाई लिएर पटक-पटक रुलिङ र चेतावनी दिइसक्नुभएको छ ।
संसदीय क्रियाकलापलाई लिएर सत्ता र विपक्षी दलहरुले एकले अर्कोपक्षमाथि उठाएका विषयलाई लिएर नियमापत्ति जनाउनेदेखि आफैं सदन सञ्चालन गर्नेसम्मका अभ्यास समेत संसद्मा देखिएको छ । संसदीय प्रक्रियाकै बारेमा संसद् सचिवालयले अभिमुखीकरण कार्यक्रम गरे पनि सांसदहरुकै अरुचि देखिनुचाहिँ स्वाभाविक मान्न सकिन्न ।