.png&w=1000&height=550)
टोकियो । जापानमा नेपाली समुदायको संख्या बढ्दै जाँदा नेपाली दूतावासमा सेवा लिने सेवाग्राहीको चाप पनि बढेको छ ।
साेही अवस्थालाई मध्यनजर गर्दै नेपाली दूतावास जापानमा एनआरएनए जापानको सहकार्यमा 'नागरिक सहायता कक्ष' सञ्चालन भएपछि सेवाग्राहीलाई सहजता मिल्ने अपेक्षा गरिएको छ । जापानस्थित नेपाली दूतावासमा दैनिक सयौं सेवाग्राही पुग्ने गरेका छन् ।
सीमित कर्मचारी र बढ्दो चापका कारण सेवाप्रवाहमा चुनौती देखिएपछि दूतावासमा 'नागरिक सहायता कक्ष' स्थापना गरिएको हो । एनआरएनए जापानको सहकार्यमा सञ्चालनमा आएको यो कक्षले सेवाग्राहीलाई आवश्यक जानकारी, सहजीकरण तथा सहयोग प्रदानको अपेक्षा गरिएको छ ।
सम्बन्धित काउन्टर र आवश्यक कागजको विषयमा सहयता कक्षले जानकारी दिन्छ । उसो त कक्षले हटलाइनमार्फत सेवाग्राहीलाई जानकारी दिँदा दूतावासका सेवा लिन सहज भएको छ । जसले काममा सजिलो भएको छ । दूतावासका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५१ करोड ८४ लाख ८५ हजार ४ सय जापानी येन राजस्व संकलन भएको छ ।
सोही अवधिमा १७ हजार २ सय ५० राहदानी, १ हजार १ सय ८१ यात्रा अनुमति पत्र तथा ८ हजार ५ सय १८ पर्यटक भिसा जारी गरिएको छ । दूतावासको तथ्यांकअनुसार जापानमा हरेक वर्ष करिब पाँच हजार नेपाली बालबालिकाको जन्मिछन् । पछिल्लो विवरणअनुसार यहाँ ३ लाख ३० हजारको संख्यामा नेपाली समुदाय छन् ।
एकातिर सीमित जनशक्तिलाई टेवा अर्कातिर नेपाली समुदायलाई सेवामा सहज पहुँच दिन एनआरएनए जापान सहकार्यमा जुटेको हो । बढ्दो नेपाली समुदायको अनुपातमा आवश्यक जनशक्ति थप्दै स्वयंसेवक तथा सहयोगी संयन्त्रलाई व्यवस्थित र दीर्घकालीन राख्नसके नागरिक सहायता कक्ष पनि प्रभावकारी हुनसक्छ ।