
कञ्चनपुर । कञ्चनपुरमा अत्यधिक गर्मी र लामो समयसम्म वर्षा नहुँदा जमिनमुनिको पानीको सतह घट्दै गएको छ ।
यसको प्रत्यक्ष असर देखिन थालेको छ, वेदकोट नगरपालिका वडा नम्बर ४ बैतडा र आसपासका क्षेत्रमा । जहाँ वर्षौँदेखि प्रयोग हुँदै आएका हाते नलहरूमा पानी आउन छाडेको छ । हाते नल सुक्न थालेपछि स्थानीय बासिन्दा खानेपानीको सङ्कटमा परेका छन् ।
हाते नलहरू यहाँका बासिन्दाका मुख्य पानीका स्रोत हुन् । तर, अहिले अत्यधिक गर्मी र लामो समयदेखि पानी नपर्दा जमिनभित्रको जलस्रोत घटेको छ र अधिकांश हाते नल सुकिसकेका छन् । बैतडाका धेरै परिवारको दैनिक जीवन हाते नलमै निर्भर थियो ।
बिहान उठ्ने बित्तिकै खाने, पकाउने, नुहाउने र पशु चौपायालाई पानी खुवाउने सबै काम यही पानीबाट चल्थ्यो । तर, अहिले ती नलहरूमा पानी आउँदैन । धेरै दिनदेखि वर्षा नभएको, तापक्रम निरन्तर बढेको र भूमिगत पानीको पुनर्भरण हुन नसक्दा पानीको सतह तल झरेको स्थानीय बताउँछन् ।
फलस्वरूप हाते नलले पानी तान्न छाडेका छन् । पानीको अभावले सबैभन्दा बढी समस्या महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ । दैनिक आवश्यकताका लागि घण्टौँ समय खर्चेर वैकल्पिक स्रोत खोज्नुपर्ने बाध्यता छ । यसैबीच स्थानीयले आठ वर्षअघि निर्माण सुरु गरिएको खानेपानी आयोजनातर्फ पनि ध्यानाकर्षण गराएका छन् ।
आयोजनाअन्तर्गत पानी सङ्कलन ट्याङ्की निर्माण सम्पन्न भइसके पनि हालसम्म पाइपलाइन विस्तार हुन नसक्दा आयोजना अलपत्रजस्तै बनेको छ । समयमै लाइन विस्तार र वितरण प्रणाली सञ्चालन हुन नसक्दा स्थानीयले प्रत्यक्ष लाभ लिन पाएका छैनन् ।
हाते नल सुक्दै गएको वर्तमान अवस्थामा उक्त आयोजना सञ्चालनमा आएको भए पानी सङ्कट धेरै हदसम्म समाधान हुन सक्ने स्थानीयको भनाइ छ । उनीहरूले सम्बन्धित निकायलाई ढिलाइ नगरी आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।
जलवायु परिवर्तनका प्रभाव ग्रामीण बस्तीमा स्पष्ट देखिन थालेका छन् । असामान्य गर्मी, अनियमित वर्षा र सुक्दै गएका जलस्रोतले भविष्यमा अझ ठूलो सङ्कट निम्त्याउन सक्ने सङ्केत देखिएको छ । खानेपानी जस्तो आधारभूत आवश्यकता नै सङ्कटमा पर्न थालेपछि तत्काल राहतका उपायसँगै दीर्घकालीन जलस्रोत संरक्षण र व्यवस्थापन अपरिहार्य देखिएको छ । समयमै समाधान खोज्न नसकिए बैतडामा पानी सङ्कट अझ गम्भीर बन्न सक्छ ।