
विराटनगर । बजेट विनियोजन सन्तुलित नभएको र एकलौटी ढङ्गले ल्याएको भन्दै कोशी प्रदेशमा सत्तारुढ गठबन्धन दलका सांसदहरुले नै सरकारप्रति असन्तुष्टि पोखेका छन्।
एमालेकै मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको कोशीमा आवश्यकताका आधारमा नभएर पहुँचका आधारमा बजेट विनियोजन भएकाले सत्तारुढ दलकै बहुमत सांसदहरुले बजेटको पुनर्लेखन गर्न माग गरेका हुन्।
कोशी प्रदेशमा बजेट विनियोजन सन्तुलित नभएको एक्लौटी ढंगले ल्याएको भन्दै बहुमत सत्ता पक्षकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। उनीहरुले सरकारले पेस गरेको नीति तथा कार्यक्रम विपरीत बजेट आएको, सिद्धान्त एकातिर, प्राथमिकता मन्त्रीका क्षेत्रतिर केन्द्रित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
मन्त्रीहरुले आफूखुसी जनताको करबाट उठेको राजस्वलाई विनियोजन गरेर आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप लगाएका हुन्। विनियोजन बजेटले आयोजनाको प्राथमिकता नगरेको, आवश्यकताको पहिचान नगरेको, विगत वर्षदेखि नै सञ्चालनमा रहेका बहुवर्षिय महत्वपूर्ण योजनामा बजेट न्यून विनियोजन गरेको, टुक्रे योजनालाई प्राथमिकता दिएकाले बजेट संशोधन, परिमार्जन र पुनर्लेखन गर्न माग गरेका हुन् ।
असन्तुष्ट सांसदहरू र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच पटक पटक छलफल भए पनि कुनै सहमति जुट्न सकेको छैन् । पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रदेश सभा सदस्य रामराना मगरले भने बजेट पुनर्लेखन संसदीय मर्यादा विपरीत रहेकोले बजेटलाई सन्तुलित बनाउन सरकार विधिसंवत् तरिकाले अगाडि बढ्ने र बजेट पास गरेपछि आवश्यकताका आधारमा बजेट संसोधन गर्ने बताउनु भयो ।
असन्तुष्ट सांसदहरू र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच छलफल भए पनि कुनै सहमति जुट्न नसक्दा पटक पटक प्रदेशसभा बैठक स्थगित भएको छ । मंसीर १६ गते दिउँसो एक बजेका लागि तय गरिएको प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक स्थगित गरी आगामी असार १८ गते बिहीबारका लागि सारिएको हो ।
यसअघि असार ११ गते बिहीबारका लागि निर्धारण गरिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुबीच भएको छलफल निष्कर्षविहिन हुँदै आएको छ।