देशभर धान दिवस, तर अधिकांश खेत अझै बाझै

असार १५, २०८३ |कान्तिपुर टीभी संवाददाता
देशभर धान दिवस, तर अधिकांश खेत अझै बाझै

काठमाडौं । आज असार १५ गते । 

२३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर सरकारी तथा गैरसरकारी निकायसँगै स्थानीय तहहरुले मनाए । तर, किसानलाई भने दिवसले खासै छोएको देखिँदैन । हरेक वर्ष मल, बीउ र सिँचाइको अभाव झेल्दै आएकोमा यस वर्ष समयमै पानी नपर्दा कतिपयले धानको ब्याडसमेत राख्न पाएनन् भने कतिपयले राखेको बीउ पनि रोप्न पाएनन् ।

लुम्बिनी प्रदेशको दाङ्गमा आइतबारदेखि पानी परेपछि बल्ल धानखेतीका लागि ब्याड राख्न सुरु भएको छ। कुलापानीबाट सिँचाइ हुने ठाउँमा पनि लामो समयसम्मको खडेरीका कारण खोलामा पानी नहुँदा किसानले अहिलेसम्म ब्याड राख्न नपाएका हुन्। 

किसानलाई धानखेती ढिलाइ भएको चिन्ता एकातिर छ भने अर्कातिर मल नपाउँदा धान रोपेपछि पनि राम्रो उत्पादन नहुने चिन्ताले सताएको छ। त्यस्तै बर्दियामा पनि धान रोपाइ प्रभावित भएको छ। ५० हजार १ सय हेक्टरमा धान खेती हुने बर्दियामा यस वर्ष जम्मा १८ प्रतिशत रोपाइँ भएको छ। 

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले बोरिंगबाट सिँचाइको व्यवस्था गरी धान दिवस मनाएको छ। अहिले बर्दियामा धान खेत प्राय: बाझो छ भने केही ठाउFमा पम्पबाट सिँचाइ भई रहेको छ। तर, यसरी बोरिंगबाट सिँचाइ गरी धान रोपाइँ गर्दा लगानीअनुसार धानको मूल्य नपाउने धन्दै किसान चिन्तित छन् ।

खडेरी र गर्मीले प्रभावित पश्चिम नेपाल सोमबार विहान सामान्य पानि परे पनि धेरैबेर वर्षा भएन। अहिलेसम्म बर्दियामा १८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। यस्तै कञ्चनपुरमा पनि हालसम्म करिब ४० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। मल र सिँचाइ अभावले धेरै किसान धान रोप्नबाट वञ्चित छन्।

यता, नेपालकै सबैभन्दा बढी खेती हुने मधेशमा अघिल्लो वर्ष असार अन्त्यसम्मै वर्षा नभएर छट्पटिएका किसान यस वर्ष पनि उस्तै समस्यामा छन्। मधेशमा यसवर्ष कुल क्षेत्रफलको ४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। जसमध्ये महोत्तरीमा ८ प्रतिशत धान रोपाइँ हुँदा पर्सा र रौतहटमा शून्य प्रतिशत छ। 

रौतहटमा एकातिर असारसम्मैको खडेरी त अर्कातिर मलको चरम अभावले धान रोप्न नपाउँदा किसान चिन्नत बनेका छन्। मधेशमै धनुषा लगाएतका जिल्लामा भने असार दोश्रो साता भए पनि वर्षा भएकोले किसानले केही राहत महसुस गरेका छन्। तर, मलको अभावले भने उनीहरु पीडा कायमै छ।

मधेश प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने गरेको छ। यसवर्ष समयमै पर्याप्त वर्षा भए उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.